आत्मदाह र मिटरब्याज पीडितका समस्याप्रति सरकार गम्भीर नभएको सांसद राईको आरोप

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले देशमा बढ्दो निराशा, युवाहरूको आत्महत्या तथा आत्मदाहका घटना र मिटरब्याज पीडितहरूको समस्याप्रति सरकार संवेदनहीन बनेको आरोप लगाएकी छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले जनसरोकारका मुद्दामा सरकार गम्भीर नबनेको आरोप लगाएकी हुन् ।
सांसद राईले पछिल्लो समय युवाले आत्मदाह गरेको र बुधवार मात्रै रौतहटमा एक जनाले आत्महत्याको प्रयास गरेको भन्दै सरकार नागरिकका समस्या समाधानमा नलागेको बताइन् । युवाहरूमा व्याप्त हीनताबोध र आक्रोशका कारण उनीहरू आत्मदाह जस्तो कठोर बाटो रोज्न बाध्य भएको भन्दै उनले सरकारको १०० दिनको कार्यकाल उपलब्धिविहीन भएको टिप्पणी गरिन् ।
उनले जनताको धैर्यको बाँध टुट्न सक्ने भन्दै सरकारलाई समयमै सचेत रहन चेतावनी समेत दिइन् । सांसद राईले ट्राफिक व्यवस्थापन र सर्वसाधारणलाई लगाइने जरिवानाका विषयमा पनि प्रश्न उठाइन् । गरिब र सर्वसाधारण चालकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था न्यायपूर्ण नभएको उनको तर्क छ ।
सांसद राईले भनिन् ‘जुन युवा र विद्यार्थीलाई ढाल बनाएर यो व्यवस्था र सरकार स्थापना भयो, आज तिनै युवाहरू दिनदहाडै जलिरहेका छन् । गरिब र निमुखाहरूको मतले विजय प्राप्त गरेको सरकारले उनीहरूकै आँसुमा रमाइरहेको भान भइरहेको छ ।’
सांसद राईले मिटरब्याज पीडितहरूको समस्या समाधानमा सरकारले ठोस पहल नगरेको बताइन् ।








