शैक्षिक परामर्श नियमावलीविरुद्ध व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा आबद्ध विभिन्न संघ–संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियमावली निर्माणअघि सरोकारवालासँग पर्याप्त छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरूले नियमावलीका केही व्यवस्थाले विद्यार्थीको सूचनाको हक, निजी क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय शिक्षामार्फत अवसर प्राप्त गर्ने अधिकारमा असर पर्ने दाबी गरेका छन् ।

व्यवसायीहरूले अनुमतिपत्रको अवधि एक वर्ष र वार्षिक नवीकरणको व्यवस्था झन्झटिलो भएको भन्दै त्यसलाई पाँच वर्ष कायम गर्न माग गरेका छन् । त्यस्तै, शैक्षिक मेला, सेमिनार तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाउनुपर्ने उनीहरूको माग छ ।

नियमावलीमा उल्लेखित मापदण्ड, विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने लाभ, कर तथा आय–व्यय विवरण, विद्यार्थीलाई हुने क्षतिपूर्ति, संस्थागत वर्गीकरण तथा धरौटीसम्बन्धी व्यवस्थासमेत पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूले बताएका छन् ।

व्यवसायीहरूले नियमावलीका प्रावधान संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । जसअनुसार २०८३ असार ३२ गते सदस्यहरूले आ–आफ्नो कार्यालयमा कालो पट्टी बाँधेर नियमित काम गर्दै विरोध जनाउने भएका छन् ।

त्यसैगरी २०८३ साउन १ गते बिहान ११ बजेदेखि ११ः३० बजेसम्म कार्यालय अगाडि प्लेकार्डसहित शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने घोषणा गरिएको छ । विरोध कार्यक्रम काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित हात्तीसारदेखि पद्मोदय मोड, बागबजारदेखि पुतलीसडक चोक र डिल्लीबजारदेखि पुतलीसडक चोकसम्म आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरूले वार्ता र समस्या समाधानका लागि राज्य पक्षबाट पहल नभएमा कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाई अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उनीहरूले आफ्ना आन्दोलनका कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक, मर्यादित र कानुनसम्मत हुने उल्लेख गर्दै सरकारसँग संवाद र रचनात्मक समाधानका लागि आफूहरू तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =