‘थ्री डी’ र ‘थ्री सी’ को अवधारणामा जोड दिन अर्थमन्त्री वाग्लेको सुझाव

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधवार काठमाडौँमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले नेपालले गरिबी निवारणमा हासिल गरेको उपलब्धिको चर्चा गर्दै सन् १९९५ मा ५५ प्रतिशत रहेको गरिबीको दर हाल १ प्रतिशतभन्दा तल झरेको बताए ।
यद्यपि विकासका चुनौतीहरू बदलिएको उल्लेख गर्दै उनले अबका दिनमा ‘डिजिटलाइजेसन’ ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले यी तीन पक्ष (थ्री डी) ले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई डोर्याइरहेको विश्लेषण गरे ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारी ऐतिहासिक र गौरवपूर्ण रहेको बताए । डा. वाग्लेले सन् १९६० र ७० को दशकमा पूर्वाधार विकासका लागि गरिएका पूर्व–सम्भाव्यता अध्ययनदेखि ९० को दशकमा सञ्चालित सहभागीमूलक विकासका मोडलहरूसम्म युएनडिपीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
भविष्यको कार्यदिशाका लागि उनले युएनडिपीलाई ‘थ्री सी’ को सूत्र सुझाए । जसअन्तर्गत समन्वयकारी शक्ति, सीमापार र क्षेत्रीय सार्वजनिक हितका मुद्दा र परिष्कृत सहकार्यको मोडेल रहेका छन् ।
शान्ति प्रक्रिया, संविधान निर्माण र लोकतन्त्रको सुदृढीकरणमा युएनडिपीले पुर्याएको सहयोगको कदर गर्दै उनले आगामी दिनमा जलवायु परिवर्तन, युवा सशक्तीकरण र डिजिटल रूपान्तरणमा थप साझेदारीको अपेक्षा गरे ।
कार्यक्रममा नेपालका लागि युएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालको विकास यात्रामा ६ दशकदेखिको साझेदारीलाई स्मरण गर्दै आगामी दिनमा पनि राष्ट्रिय प्राथमिकताका क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । आवासीय प्रतिनिधि योकोसुकाले सन् १९६० को दशकदेखि सुरु भएको यो यात्रामा युएनडीपीको भूमिका नेपालको आवश्यकता र चाहना अनुरूप परिमार्जन हुँदै आएको उल्लेख गरे । सुरुवाती चरणमा संस्थागत सुदृढीकरण र सुशासनमा केन्द्रित रहेको युएनडीपीले पछिल्ला वर्षहरूमा विपद् पछिको पुनरुत्थान, सामाजिक समावेशीकरण र अहिलेको समयमा डिजिटल एवं हरित रूपान्तरणका क्षेत्रमा नेपाललाई सहयोग पुर्याउँदै आएको छ ।
योकोसुकाले युएनडीपीका दुई मुख्य मार्गदर्शक सिद्धान्तहरू ‘राष्ट्रिय अपनत्व’ र ‘साझेदारी’ मा जोड दिए ।
उनले भने ‘नेपालको विकासका उपलब्धिहरू नेपालकै हुन् । हाम्रो भूमिका विकासको नेतृत्व गर्ने नभई राष्ट्रिय प्राथमिकताहरूलाई सघाउनु, संस्थाहरूलाई बलियो बनाउनु र नागरिकलाई आफ्नो भविष्य आफैँ निर्माण गर्ने अवसर सिर्जना गरिदिनु हो ।’
नेपाल सरकार, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र विकास साझेदारहरूसँगको सहकार्यले नै ६० वर्षको यात्रा सफल भएको उनको भनाइ छ । योकोसुकाले जलवायु परिवर्तन, समावेशी आर्थिक वृद्धि र युवाहरूका लागि अवसर सिर्जना गर्नु अबको मुख्य कार्यभार रहेको बताए । विश्वव्यापी रूपमा विकास वित्तमा दबाब बढिरहेको सन्दर्भमा, युएनडीपीले सार्वजनिक र निजी लगानी आकर्षित गर्न, संस्थागत क्षमता अभिवृद्धि गर्न र विकासका प्रतिफलहरू लक्षित वर्गसम्म पुर्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।








