श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (नं. ८१) सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
महासन्धि अनुमोदनका लागि प्रस्तुत गर्नुअघि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस ऐतिहासिक दस्ताबेजको अनुमोदनले नेपालको श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने बताए ।
उनले यसबाट श्रमिकहरूको अधिकार संरक्षणमा टेवा पुग्नुका साथै विद्यमान श्रम प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे । मन्त्री यादवले महासन्धि पारित भएपश्चात् यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने प्रतिबद्धता समेत जनाए ।
सदनमा मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनैपनि मत नपरेपछि महासन्धि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।
बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरिएको छ ।








