मन्त्री बर्खास्त भएपछि एमालेले गर्‍यो सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने निर्णय

काठमाडौं । मुख्यमन्त्रीले आफ्ना मन्त्री बर्खास्त गरेपछि नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले आज साँझ ५ बजेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

यसअघि आजै मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका हुन् ।

त्यस लगत्तै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यस्तै, मुख्यमन्त्री शाहले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताएका छन् ।

१ असारमा संसद्मा बजेट प्रस्तुत भइकेपछि सत्ता साझेदार एमाले र आफ्नोबीचमा विभिन्न चरणमा संवाद निरन्तर चलेको र आजका मितिसम्म पनि संवाद कायमै रहेको मुख्यमन्त्री शाहले बताएका छन् ।

उनले बजेटमा प्राविधिक त्रुटीहरू भए सच्याएर भए पनि समझदारीका आधारमा अगाडि बढाऔं भन्दा एमालेले ठोस निर्णय नगरेपछि मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने परिस्थिति निर्माण भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =