वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन गर्दै सरकार

काठमाडौँ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिएकी हुन् ।
उनले मध्यवर्ती क्षेत्रभित्र वन क्षेत्र र महत्त्वपूर्ण जलीय इकोसिस्टम बाहेकका नदीबाट वातावरणीय अध्ययनका आधारमा स्थानीय तहलाई नदीजन्य पदार्थ सङ्कलन तथा विक्री–वितरण गर्न सक्ने व्यवस्था गर्न कानुन संशोधनको प्रस्ताव गरिएको समेत बताइन् । उनले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजनका लागि पहल भइरहेको समेत जानकारी दिइन् ।
उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन गरी मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वन्यजन्तु उद्धार तथा अन्य संरक्षणसम्बन्धी कार्यका लागि वन्यजन्तु संरक्षण कोष स्थापना गर्ने प्रस्ताव भइरहेको समेत बताइन् ।
उनले भने ‘मध्यवर्ती क्षेत्रभित्रको वन क्षेत्र र महत्त्वपूर्ण जलीय इकोसिस्टम बाहेकका नदीमा वातावरणीय अध्ययनको आधारमा स्थानीय तहले नदीजन्य पदार्थ सङ्कलन र विक्री वितरण गर्न पाउने गरी ऐनमा संशोधन प्रस्ताव गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहहरूमा विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्नको विशेष पहल भइरहेको छ । प्रतिवेदनको सुझावबमोजिम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधनमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वन्यजन्तुको उद्धार र अन्य कार्यहरू गर्नेगरी वन्यजन्तु संरक्षण कोष रहनेगरी प्रस्ताव गरिनेछ । र वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिलाई बीमा प्रणालीमा आबद्ध गर्ने सम्भावनाको बारेमा बिमा प्राधिकरणबाट अध्ययन भइरहेको छ । र वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका सुधार गर्नेसम्बन्धी ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीमा परिमार्जन गरी मध्यवर्ती क्षेत्रका स्थानीय तहको क्षमता अभिवृद्धि गरिनेछ ।’
उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली परिमार्जन गर्ने तथा मध्यवर्ती क्षेत्रका स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सरकार लागिपरेको समेत जानकारी दिइन् ।








