प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न- गणेश नेपाली मृत्यु प्रकरणमा मौनता किन ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेकी छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक जना युवाले पेट्रोल छर्केर आत्मदाह गर्दा पनि किन मौनता साँधेको ? भनेर प्रधानमन्त्री साहलाई प्रश्न पनि गरे । प्रमुख सचेतक थापाले सरकारको आतंकका कारण नेपालीले आफ्नो शरीरमा आगो लगाउँदा पनि उपचारका लागि एम्बुलेन्सको समेत व्यवस्था नगरेर सरकारले अपराधीको जस्तो व्यवहार गरेको आरोप समेत लगाइन् ।

एउटा नागरिकले आफ्नो शरीरमा आफैँले आगो लगाउनुपर्ने हृदयविदारक घटना घट्दा पनि सरकार गम्भीर नभएको प्रमुख सचेतक थापाले गुनासो गरिन् ।

उनले भनिन् ‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईँको मौनता किन रु विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ तर आज स्वयम सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ रु राज्य आतंकका कारण एक युवाले आफै आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । आगो शरीरमा दन्की रहेको छ । तर राज्यले एम्बुलेन्स पठाएन । अरू प्रहरी प्रशासन लगाएर अपराधीझैँ घिसारेर लग्यो । म सरकारलाई सोध्न चाहन्छु–यो उद्धार हो कि गिरफ्तार सरकार ? के ऊ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यही देशमा जन्मियो र यहीँ बसेर आफ्नै देशमा केही गर्ने प्रण गयो । विदेशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ । अरूले आफैलाई चलाउने हिम्मत गरिरहेका छैनन् । बहादुर युवाले विद्रोह गर्याे सरकार । जनताको लाइफ बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चेर लाइभ बनाउने ध्याउन्नमा छ । देशले आशा गरिएको भनेको नयाँ सरकार आउँदा पनि यो शिलशिला रोकिएको छैन । म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु राज्य के यति निरीह र असफल भइसकेको हो ? कि आफ्नो पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउँछ । होइन भने यस्ता हृदयविदारक घटनाहरू किन बारम्बार दोहोरिरहेका छन् ? म सभामुख महोदयमार्फत सरकारलाई सोध्न चाहन्छु–अव कालो चस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो बसमा निलो पोतेर नागरिकको सुरक्षाको महसुस गरिँदैन ।’

प्रमुख सचेतक थापाले नागरिकको सुरक्षाको विषयमा सरकारले कुनैपनि ठोस कदम चाल्न नसकेको जिकिर पनि गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =