ज्ञानेन्द्र शाहीको आरोप- सरकारका सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित छ

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको सबै निर्णयहरू अर्बपति र करोडपतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राज्यको यस्तो गरिवमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरूजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे ।
नेता शाहीले गरिब, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भएपनि सरकारले उक्त व्यवहार देखाउन नसकेको दाबी समेत गरे । उनले सरकारको नीति, नियम र निर्णय धनीहरूको पक्षमा मात्रै रहेको पनि बताए ।
नेता शाहीले भने ‘गणेश नेपालीको मृत्यु यो राज्यको नीतिको कारणले भयो । र, उहाँले आत्मदाह गर्नु भयो । म यो सम्मानित सदनमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूले यो विनम्र अपिल गर्न चाहन्छु–यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो ? यो गरिब, दुःखी, श्रमिक र निमुखाहरूको सहर हो वा होइन ? यदि गरिब दुःखी जनताको सहर होइनेभने यो नेपालको राजधानी किन भयो ? नेपालको राजधानी हो भने गरिब, दुःखी र सर्वहारा वर्ग र जनताको पनि यो सहर हो ? आज गरिब, दुःखी जनता यो सहरमा बाँच्न नपाउने भइसके –अघिल्लो पटक मेयर भएदेखि नै । यो अवस्था आज सृजित भएको छ । सरकार कसलाई चाहिन्छ ? सरकार अर्वपतिलाई चाहिँदैन सभामुख महोदय । र करोडपतिलाई पनि सरकार चाहिँदैन । उनीहरूलाई त्यति आवश्यक हुँदैन सरकारको । सरकार ती व्यक्तिलाई चाहिन्छ, जो गरिब छन्, निमुखा छन् । जो अपहेलित छन्, उसलाई सरकारको आवश्यकता छ । तर आज सरकार ठ्याक्क उल्टो देखिन्छ । सरकरको नीति पनि उल्टो छ सभामुख महोदय । आज सरकारका ऐन, नियम, नीति हेर्दा हुनेखाने, करोडपति र अर्बपतिहरुको पक्षमा केन्द्रित देखिन्छ । यही नियम, ऐन, मन्त्रीपरिषद्को निर्णय लिएर पढाउन सक्छु सभामुख महोदय । यो सरकार गरिवका लागि देखिँदैन । जसको खल्तीमा पैसा छ, उसले नेपालमा बाँच्न पाउँछ, तर जसको खल्तीमा पैसा छैन, उसले बाँच्न पाउँदैन भन्ने खालको सन्देश सरकारको नीति तथा कार्यक्रमले दिइरहेको छ सभामुख महोदय ।’
नेता शाहीले काठमाडौँ सहर हुनेखानेहरूको मात्रै हो रु भनी प्रधानमन्त्री बालेन्द्र साहलाई प्रश्न समेत गरे ।








