१८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विनियोजन विधेयक संसदमा पेश भएको १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै सरकारको पारदर्शितामाथि प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेट प्रक्रियामा ढिलाइ र अस्पष्टताले सुशासनमा प्रश्न उठेको बताएका हुन् ।

उनका अनुसार अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेलगत्तै मन्त्रालयगत कार्यक्रम र बजेटको विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा भए पनि त्यसो हुन नसकेको छ ।

सचेतक दुलालले बजेटमा करका दर हेरफेरजस्तै मन्त्रालयगत बजेटमा पनि थपघट भइरहेको भन्ने गाइँगुइँ आएको उल्लेख गर्दै त्यसलाई सुशासनको अभ्यास मान्न नसकिने बताए ।

उनले भने, ‘विनियोजन विधेयक पेश भएको १८ दिन भइसक्यो। किन आजसम्म किताब आउँदैन ? विस्तृत अध्ययनबिनै संशोधन प्रस्ताव र धारणा राख्नुपर्ने अवस्था सिर्जना भएको छ। भोलि छलफल हुने केही मन्त्रालयको बजेट पुस्तिकासमेत अझै उपलब्ध भएको छैन।’

उनका अनुसार कार्यक्रम पुस्तिका नपाउँदै खर्च कटौतीका प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जसले संसदीय प्रक्रियालाई कमजोर बनाएको छ ।

सचेतक दुलालले विनियोजन विधेयक संसदमा पेश भएपछि मन्त्रालयगत बजेटमा हेरफेर भइरहेको भन्ने आशंका सार्वजनिक रूपमा उठेको भन्दै त्यसको स्पष्टता आवश्यक रहेको बताए ।

उनले बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्न र सांसदहरूलाई समयमै विस्तृत विवरण उपलब्ध गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =