भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानका उत्पादन निर्यातमा देखिएका समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई आग्रह गरिन् ।

सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा चिया उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल कूटनीतिक पहल आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलोभन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ। पटक–पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५–२० दिनसम्म प्रक्रिया नटुंग्याउने जस्ता कारणले समस्या भइरहेको छ।’

उनका अनुसार निर्यात अवरोधका कारण उत्पादन भण्डारणमै थन्किनु परेको र चिया उद्योग संकटमा परेको छ ।

सांसद राईले भारत सरकारसँग तत्काल संवाद (डाइलग) गर्न सरकारसँग माग गर्दै अन्य देशहरूसँग पनि निर्यात बजार विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उनले चियासहित अन्य कृषि उत्पादनका लागि पनि दीर्घकालीन बजार सुनिश्चित गर्न र किसानलाई आत्मनिर्भर बनाउन सरकार गम्भीर हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =