अर्थमन्त्रीले राजस्व हिनामिना गरे, तत्काल समिति गठन गरी छानबिन गरियोस्: गुरुप्रसाद बराल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानबिन समिति गठन गरी त्यसको छानबिन हुनुपर्ने बताएका हुन् ।

सांसद बरालले विगतलाई देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको गल्तीबाट उम्किन नपाउने पनि बताए । उनले विगतमा त्यस्ता घटना भएको भए छानबिनको दायरामा आउन विपक्ष दलहरू तयार रहेको पनि बताए ।

सांसद बरालले भने ‘आज देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्त गरिरहँदा विगतको इतिहासलाई केलाएर उनले केही सन्दर्भहरू उठाए । म सभामुख महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु–कि विगतका सबै घटनाहरूलाई दूधको दूध, पानीको पानी गरेर छुटयाउनका लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ । त्यसले सत्यलाई उजागर गर्न चाहन्छ, कमजोरी भए सच्याउन चाहन्छ । तर विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दररेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नुभएको छ । यो चीजबाट उम्किन पाइँदैन सभामुख महोदय । यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको सभामुखमार्फत अविलम्ब ध्यानाकृष्ट गरियोस् । र एउटा संसदीय समितिमार्फत यो विषयलाई छानबिन गरेर निरुपित गर्नु पर्दछ । अन्यथा यस खालका चलनहरू चलिरहनेछ । र, गलत चिजहरिको नजिर र अभ्यास बसिरहनेछ । यसलाई सदाको लागि अन्त्य गर्नका लागि संसदीय छानबिन समिति गठनको जरुरी छ ।’

सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानबिनका लागि अविलम्ब कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =