एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको घटनाबारे सरकारसँग जवाफ माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई हप्कीदप्की गरिरहेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै रक्षामन्त्रीले तत्काल संसदमा जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले आफ्नै भूमिको रक्षा गर्न नेपाली नागरिक निहत्था रूपमा संघर्ष गरिरहँदा सरकार मौन बसेको आरोप लगाए । साथै, नेपाली सेना सीमा क्षेत्रमा अवलोकनका लागि समेत जान नसक्ने अवस्था किन आएको हो भन्दै प्रश्न उठाए ।

‘सुस्तामा भारतीय पक्षको एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गरिरहेको र नेपाली नागरिक आफ्नो भूमिको लागि निहत्था रूपमा संघर्ष गरिरहेको भिडियो सार्वजनिक भएको छ,’ उनले भने, ‘यस विषयमा रक्षामन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ ।’

राईले सरकारले नेपाली सेनालाई सीमा क्षेत्रमा अवलोकन गर्न नपाउने कुनै सन्धि वा सम्झौता गरेको भए त्यसको विवरण संसदलाई उपलब्ध गराउन पनि माग गरे ।

‘हाम्रो नेपाली सेना सीमामा जानै नहुने के कसम खाएर बसेको रहेछ ? सीमा क्षेत्रमा हेर्न, अवलोकन गर्न समेत नमिल्ने कुनै करार वा सन्धि भएको हो भने त्यो संसदलाई देखाइनुपर्छ,’ उनले भने ।

उनले संविधानले सुनिश्चित गरेको सूचनाको हकअनुसार संसद र सांसदहरूलाई यस्ता विषयमा जानकारी पाउने अधिकार रहेको उल्लेख गरे । सरकारले सीमा सुरक्षासम्बन्धी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

राईले सुरक्षा व्यवस्थाविना खुला सीमा जो–कसैले मिच्न सक्ने भन्दै सरकारलाई सीमा सुरक्षाप्रति गम्भीर बन्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 10 =