सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाइनु आपत्तिजनकः खड्का

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सुधन गुरुङलाई पुनः सोही जिम्मेवारी दिइएको विषयमा आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति लगायतका विषयमा प्रश्न उठेका तथा मानव अधिकार आयोगको प्रतिवेदनमा समेत जेनजी आन्दोलनको घटनामा दोषी ठहर गरिएका गुरुङलाई पुनः गृहमन्त्री बनाइनु अस्वीकार्य भएको बताए ।

उनले सरकारले दोषीमाथि कारबाही गर्नुको सट्टा पुरस्कार दिने काम गरिरहेको आरोप लगाए । सुशासनको नारा दिने सरकारले आफ्ना पक्षका व्यक्तिलाई जोगाउने र पुरस्कृत गर्ने काम गरिरहेको उनको भनाइ थियो ।

‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपछि छानबिन समिति बनाइयो । सुनिन्छ, उक्त समितिले उहाँलाई चोख्यायो रे । तर प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री बनाइयो । एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नालाई पुरस्कृत गर्ने काम भइरहेको छ,’ सांसद खड्काले भने ।

उनले मानव अधिकार आयोगको प्रतिवेदनमा पनि गृहमन्त्री गुरुङलाई दोषी ठहर गरिएको दाबी गर्दै सरकारले आफैँ छानबिन गर्ने र आफैँ पुरस्कृत गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

‘सरकार आफैँ धामी र आफैँ पुरस्कृत गर्ने काममा लागेको छ । अब क्रमभंगता र सुशासनको गफ हाँक्न छाडौँ । कि आफ्नालाई जोगाउने र पुरस्कृत गर्ने काम बन्द गर्नुपर्छ,’ उनले भने ।

सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने आफ्नो अडानसमेत दोहोर्‍याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =