बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल कारबाहीको माग गरेकी हुन् ।
सांसद न्यौपानेले पछिल्ला केही प्रतिनिधि घटनाहरू प्रस्तुत गर्दै बुद्धनगर निवासी तारा पोखरेल र मोना पोखरेलको ह्वाट्सएप ह्याक गरी उनीहरूका परिचित व्यक्तिहरूबाट लाखौँ रुपैयाँ असुल गरिएको जानकारी दिइन् । त्यसैगरी, अर्का पीडित सुधिरमान प्रधानको ह्वाट्सएपमा आइपीएस एक्टिभ गर्ने बहानामा आएको लिङ्क क्लिक गर्दा उनको बैंक खाताबाट पटक–पटक गरी १० लाख रुपैयाँ चोरी भएको घटना पनि उनले संसदमा प्रस्तुत गरिन् ।
उनले भनिन् ‘उहाँहरूको सामाजिक साख र इज्जतको फाइदा उठाउँदै ह्याकरले पैसा मागेपछि आफन्तहरूले विश्वासमा परेर रकम पठाएको देखिन्छ । ह्याकरहरूले नेपालमै वैधानिक रूपमा बैंक खाता खोलिरहेका छन्। सम्बन्धित निकायबाट सूचना प्राप्त हुनासाथ बैंकहरूले त्यस्ता शंकास्पद खाता तत्काल ब्लक गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
ठगीका यस्ता घटनामा संलग्न गिरोहले नेपालकै विभिन्न बैंकका खाताहरू र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता खाताहरूको पहिचान गरी तत्काल रोक्का गर्नुपर्नेमा उनले जोड दिइन् । साइबर अपराधका उजुरीको चाप बढ्दो भएपनि अनुसन्धान गर्ने निकाय साइबर ब्युरोसँग सीमित स्रोतसाधन रहेको उल्लेख गर्दै उनले ब्युरोलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन सरकारसँग माग गरिन् ।
साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण यस्ता ठगीका घटनाहरू बढेको भन्दै सरकारले डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उनले जोड दिइन् ।








