खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाका किसानले खेतीको समयमा रासायनिक मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राईले मल अभावका कारण धनकुटाका किसानहरू सरकारसँग निकै रुष्ट रहेको बताएका हुन् ।
सांसद राईले धनकुटाका ७ वटा स्थानीय तहका किसानहरू अहिले धान रोप्ने र मकै गोड्ने तयारीमा रहे पनि मल नपाउँदा समस्यामा परेको उल्लेख गरे ।
उनले सदनको शून्य र आकस्मिक समयमा पटक–पटक उठाइएका प्रश्नहरूको सरकारले वास्ता नगरेको आरोप लगाए । सांसद राईले ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गतको बजेट निकासा नहुँदा गरिब जनता मर्कामा परेको विषय समेत उठाए । विगतको सरकारले ल्याएको खरको छाना विस्थापित गरी जस्तापाता (टिन) लगाउने योजनाअनुसार सर्वसाधारणले घर बनाए पनि सरकारले दिने भनिएको रकम हालसम्म उपलब्ध नगराएको उनको गुनासो थियो ।
उनले भने ‘१ लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको धनकुटामा किसानहरूले मल खोजिरहेका छन् । जनताको हितमा काम गर्ने वाचा गरेर बनेको सरकारले खेतीको मुख्य समयमा मल उपलब्ध गराउन नसक्नु दुःखद छ । धनकुटाका जनताले कहिले मल पाउँछन् ? यसको जवाफ सरकारले तत्काल दिनुपर्छ । यदि मल उपलब्ध गराइएन भने यसको परिणाम गम्भीर हुनेछ ।’
विगतको योजनाअनुसार जनताले धमाधम खरको छाना हटाइसकेका छन्, तर टिनको छाना लगाउनका लागि दिने भनिएको पैसा खोइ ? भन्दै उनले प्रश्न गरे ।








