‘जान्नेलाई छान्ने’ नारामा पाखण्ड देखियो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक दल र तिनको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले रास्वपाको नाम नलिईकन ‘जान्नेलाई छान्ने’ भन्दै उदाएका नयाँ दल र नेताहरूको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।
पोखरेलले नयाँ शक्तिहरूको कार्यशैली र प्रवृत्तिलाई ‘पाखण्ड’ र ‘भ्रष्टताको संस्थागत रूप’ को संज्ञा दिएका छन् ।
उनले सुशासन र तीव्र विकासका लागि पुराना दल र नेतृत्वका कमजोरी सुधार्नुपर्ने आवश्यकता स्वीकार गरे पनि नयाँ नाममा पुरानै कमजोरी दोहोरिने गरी देखिएका गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
‘जान्नेलाई छान्नेको भ्रष्टीकरण’ शीर्षकमा लेखिएको स्टाटसमा उनले रास्वपा लगायतका नयाँ दलहरूको नाराको यथार्थ क्रमशः बाहिर आउन थालेको दाबी गरेका छन् ।
पोखरेलले नयाँ भनिएका शक्तिहरूमा देशविरुद्धका गतिविधिलाई सामान्य ठान्ने र राज्यविरुद्धका अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति देखिएको आरोप समेत लगाएका छन् ।
उनका अनुसार यस्तो प्रवृत्तिलाई ‘योग्यता’ भन्न नसकिने भन्दै स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप भएको टिप्पणी गरेका छन् ।








