विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्नः कँडेल

काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । उनले सुशासन र सुधारको एजेन्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताए ।
कँडेलका अनुसार अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ । तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन । उनले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताए ।
‘माननीय अर्थमन्त्रीज्यूले बारम्बार अघिल्ला अर्थमन्त्रीहरूले ७३ ठाउँमा करका दर वा व्यवस्थाहरू परिवर्तन गरे, भ्रष्टाचार भयो भन्ने कुरा उठाइरहनुभएको छ । भ्रष्टाचारको विषय उहाँको अभिव्यक्तिमा निरन्तर रूपमा आइरहेको देखिन्छ । तर उहाँ स्वयं पनि विगतमा राज्यका महत्वपूर्ण निकायहरूमा संलग्न हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेको व्यक्ति हुनुहुन्छ । लामो समय विभिन्न नीतिगत प्रक्रियामा सहभागी हुनुभएको छ र बजेट निर्माण प्रक्रियासँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको छ,’ कँडेलले भने ।
उनले विगतका सबै कमजोरीबाट आफू पूर्ण रूपमा अलग रहेको सन्देश दिन खोज्नु उपयुक्त नहुने टिप्पणी गरे । ‘यदि अघिल्ला सरकारले ७३ स्थानमा हस्तक्षेप गरे वा गल्ती गरे भन्ने हो भने त्यो रेकर्डमा छँदैछ । तर नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहोर्याउनु हुँदैन,’ उनले भने ।
कँडेलले अघिल्लाहरूले गल्ती गरेका थिए भन्दैमा अहिले गल्ती गर्ने छुट कसैलाई नहुने बताए । बजेटमा देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।
‘अर्थमन्त्रीज्यूको नियत खराब छ भन्ने आधार हामीसँग छैन । उहाँको नियत सफा नै होला । तर विगतका सबै व्यक्ति भ्रष्ट थिए र सबै समस्या भ्रष्टाचारकै कारणले भएका हुन् भन्ने निष्कर्ष पनि सही होइन,’ उनले भने, ‘हिजो त्यो तर्क गलत थियो भने आज पनि गलत नै हुन्छ ।’
बैठकमा कँडेलले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीबारे पनि प्रश्न उठाए । नेपालको कर प्रशासनले विगतदेखि बहु-दर भ्याट प्रणालीलाई अस्वीकार गर्दै आएको स्मरण गराउँदै उनले अहिले बहुदर भ्याट प्रणालीतर्फ जाने विषयमा पर्याप्त अध्ययन, बहस र तयारी भएको हो वा होइन भन्ने प्रश्न गरे ।
उनका अनुसार १३ प्रतिशतको एकल भ्याट दरका विकल्पका रूपमा केही वस्तु तथा सेवामा न्यून दर लागू गर्ने र विलासिताका वस्तुमा फरक दर निर्धारण गर्ने विषयमा विगतदेखि बहस हुँदै आएको छ । तर त्यससम्बन्धी नीतिगत परिवर्तन गर्दा स्पष्ट आधार र औचित्य प्रस्तुत गरिनुपर्ने उनको भनाइ छ ।
कँडेलले कर नीतिमा स्थायित्व, पूर्वानुमानयोग्यता र स्पष्टता कायम गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । कुनै पनि कर सुधार व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शपछि मात्र कार्यान्वयन गर्नुपर्ने उनको धारणा थियो ।
यसअघि सोही बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा प्राविधिक त्रुटि देखिएकाले सच्याउनुपरेको र विपक्षीले त्यसलाई ठूलो मुद्दा बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसकै जवाफमा कँडेलले विगतका सरकारलाई दोष दिएर वर्तमान त्रुटिको बचाउ गर्न नमिल्ने बताएका हुन् ।








