बोधी संवाद हुँदै, विशेष आकर्षण ‘चीनबारे छलफल’

काठमाडाैं । नेपाल, दक्षिण एशिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद २०२६’ आयोजना हुने भएको छ ।
सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र (सेसिफ) को आयोजनामा आउँदो मंगलवारदेखि शुक्रवारसम्म चार दिनसम्म सो सम्मेलन सञ्चालन हुन लागेको हो । मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष, निर्देशक एवं पूर्वराजदुत विजयकान्त कर्णले सम्मेलनबारे विस्तृत जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सेसिफका अध्यक्ष एवं पूर्वराजदुत विजयकान्त कर्णले भने, ‘नेपालको मौलिक ज्ञान तथा सरकारले अगाडि सारेको सौम्य कुटनीतिलाई सहयोग पुर्याउने उद्देश्यले नै यस सम्मेलनको नाम ‘बोधि संवाद’ राखिएको हो । नीति निर्माण, शैक्षिक अनुसन्धान र निजी क्षेत्रको अनुभवलाई एउटै स्थानमा जोड्दै नेपालको आर्थिक रूपान्तरण, नीतिगत सुधार र रणनीतिक सोचमा सकारात्मक योगदान पुर्याउनु नै यसको मुख्य लक्ष्य हो । हामी ज्ञान र विवेकमा आधारित यस मञ्चबाट प्राप्त हुने महत्त्वपूर्ण सुझावहरूलाई लिपिबद्ध गरेर सरकारलाई समेत जानकारी गराउनेछौँ ।’
यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा १६ जना विदेशी स्कलरहरूका साथै विभिन्न देशका पूर्वमन्त्रीहरू, पूर्वपरराष्ट्र सचिवहरू, वरिष्ठ कुटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्ना अनुभव र विचार राख्नेछन् ।
सम्मेलनको पहिलो दुई दिन अर्थात असार २ र ३ गते ‘नेपालको आर्थिक विकासको सम्भावना’ विषयमा केन्द्रित रहेर गहन छलफल हुनेछ, जसमा सुशासन, पारदर्शिता, लगानीमैत्री वातावरण, ऊर्जा, पूर्वाधार तथा डिजिटल रूपान्तरणजस्ता बहुआयामिक विषयमा बहस हुनेछ ।
सम्मेलनको कार्यतालिका र विषयवस्तुबारे थप प्रष्ट पार्दै अध्यक्ष कर्णले भने, ‘विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अवस्थामा यस्ता विषयहरूको अर्थ, प्रभाव र सम्भावित दिशामाथि गहन विमर्श आवश्यक भइसकेको छ । सोही कारण हामीले राजनीतिक नेतृत्व, नीति निर्माता, अर्थशास्त्री, निजी क्षेत्रका प्रतिनिधि, विकास साझेदार, अनुसन्धानकर्ता तथा युवा नेतृत्वलाई एउटै मञ्चमा प्रश्तुत गर्न लागेका हौँ ।’
दक्षिण एशियामा चीनको बढ्दो प्रभावबारे छलफल गर्न छुट्टै शत्र
यस सम्मेलनको सबैभन्दा विशेष आकर्षणका रूपमा दक्षिण एशियामा बढ्दो चीनको प्रभाव र भू–राजनीतिक परिवर्तनबारे छुट्टै र गम्भीर विवेचना गरिने सत्र रहनेछ, जुन असार ४ र ५ गते सञ्चालन हुनेछ ।
विशेष गरी सम्मेलनको दोस्रो दिन असार ५ गते दक्षिण एशियाली क्षेत्रमा द्रुत रूपमा विकसित भइरहेको भू–राजनीतिक परिवर्तन, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको नयाँ संरचना र यस क्षेत्रमा चीनको हस्तक्षेपकारी भुमिकाबारे केन्द्रित रहेर विशेष छलफल र सुक्ष्म विश्लेषण गरिनेछ ।
चीनको भुमिका र क्षेत्रीय सुरक्षा चासोबारे केन्द्रित सत्रको महत्वबारे जोड दिँदै अध्यक्ष कर्णले भने, ‘यस विशेष सत्रमा चीनको बढ्दो आर्थिक, कुटनीतिक, प्राविधिक तथा रणनीतिक प्रभावको मिहिन समीक्षा गरिनेछ । परिवर्तनशील अन्तर्राष्ट्रिय शक्ति संरचनाबीच दक्षिण एसियाली मुलुकहरूले आफ्नो राष्ट्रिय हित र रणनीतिक स्वायत्तता कसरी सुनिश्चित गर्न सक्छन् भन्ने विषयमा क्षेत्रीय विज्ञहरूबीच गहन विमर्श हुनेछ ।’
क्षेत्रीय तथा वैश्विक शक्ति सन्तुलन फेरबदल भइरहेको वर्तमान परिप्रेक्ष्यमा यस बोधि संवादले नेपाल र समग्र दक्षिण एशियाको सम्भावित कुटनीतिक एवं आर्थिक दिशा तय गर्न दूरदर्शी बहसको साझा मञ्चका रूपमा काम गर्ने विश्वास आयोजकले लिएको छ । –न्युज एजेन्सी नेपाल








