दक्षिण यमनमा विद्युत संकटविरुद्धको प्रदर्शन उग्रः सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, थप केही घाइते

एजेन्सी । दक्षिण यमनमा विगत तीन दिनदेखि जारी विद्युत कटौती र कष्टकर जीवनयापनविरुद्धको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
स्थानीय स्रोतकाअनुसार हद्रामौत प्रान्तको दोस्रो ठूलो शहर सियुनमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न सुरक्षा बलले गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको हो । नाम नबताउने सर्तमा एक चिकित्सा अधिकारीले उक्त हताहतीको पुष्टि गरेका छन् ।
यसैगरी, दक्षिणको तटीय सहर अदनमा पनि प्रचण्ड गर्मी र उच्च आद्र्रताका बाबजुद सर्वसाधारणले आधारभूत सेवा, विशेषगरी विद्युत आपूर्तिमा भएको चरम अवरोधविरुद्ध प्रदर्शन जारी राखेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार अदनमा भएका प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्, जसमध्ये एक युवकलाई गोली लागेको छ । तनाव बढ्दै गएपछि साउदी समर्थित यमनी सरकारले स्थितिलाई नियन्त्रणमा लिन अदन र हद्रामौतका विभिन्न संवेदनशिल क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
अदनमा हाल दैनिक २० घण्टासम्म विद्युत् कटौती भइरहेको छ । चरम गर्मीका बीच लामो समयसम्म विद्युत् उपलब्ध नहुँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ । त्यस्तै, निरन्तरको मूल्यवृद्धि र स्थानीय मुद्राको अवमूल्यनले सर्वसाधारणको आर्थिक अवस्था झन् जर्जर बनाएको छ ।
सरकारी नियन्त्रणमा रहेका यमनका क्षेत्रहरू विगत केही वर्षदेखि नै गम्भीर विद्युत् संकटबाट गुज्रिरहेका छन् । पछिल्लो समय इन्धनको अभाव, पर्याप्त बजेटको कमी र आर्थिक चुनौतीका कारण यो संकट अझ गहिरिएको हो ।
सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी साना सहित देशको उत्तरी भाग कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको थियो । त्यसपछि सन् २०१५ मा साउदी नेतृत्वको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा हस्तक्षेप गरेसँगै यो द्वन्द्व थप लम्बिएको छ ।








