गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ ।

विपक्षी दलहरूको बैठकपछि मंगलवार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गृहमन्त्रीको सम्पत्ति विवरणबारे छानबिन गर्न आफ्नै मातहतमा आयोग बनाएर आरोपितहरू चोख्याउने काम गरेको बताए । सुशासनको नयाँ नारा दिए पनि सरकारले पुरानै र जनस्तरबाट तिरस्कृत शैली अपनाएको उनको भनाइ छ ।

विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठाउँदै महरले संसदीय छानबिनको माग दोहोर्याए ।

बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई उहाँले ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यविरुद्धको अपराध’ को संज्ञा दिए ।

उनले भने ‘अब यसमा सरकारले सुसज्जित सुशासन कायम गर्ने कुरा गरेको छ । तर आफूलाई नयाँ भन्ने सरकारले जुन प्रकारको अत्यन्त पुरानो, घृणित र जनताबाट तिरस्कृत शैली अपनाएको छ, त्यो विडम्बनापूर्ण, दुःखद र अचम्मलाग्दो छ । विशेषगरी, कुनै ज्वलन्त प्रश्न उठेपछि सरकारले आफैँ आयोग गठन गर्ने, त्यसलाई म्यान्डेट तथा निर्देशन दिने, अनि त्यसैमार्फत आफूलाई सफाइ दिने प्रयास गरेको छ । यसप्रति हाम्रो आपत्ति छ । म यस विषयमा दुःख व्यक्त गर्न चाहन्छु । नेपालीमा एउटा उखान छ, आफैँ धामीझाँक्री, आफैँ बोक्सी, सरकारले त्यही प्रयास गरेको देखिन्छ । यो सुशासनको भद्दा नमुना हो ।’

विपक्षी दलहरूले सरकारले गठन गरेका छानबिन संयन्त्रहरूले निष्पक्ष परिणाम नदिने भन्दै संसद्मार्फत नै उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =