प्रधानमन्त्रीले माफी मागेर राजीनामा दिनेसम्मको शाहस देखाउनुपर्छः रखाल

काठमाडौं । नेकपा एमालेकी सांसद मिनान्सी रखालले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका लागि माफी माग्दै आवश्यक परे राजीनामासम्म दिनुपर्ने बताएकी छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद रखालले प्रधानमन्त्रीको ‘नेपालले भारतको पनि भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रियता, सार्वभौमिकता र कूटनीतिक संवेदनशीलताविपरीत भएको टिप्पणी गरिन् ।
उनले भूमि, सीमा र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषय ऐतिहासिक तथ्य, प्रमाण, नक्सा, सन्धि–सम्झौता तथा राष्ट्रिय सहमतिसँग जोडिएको भन्दै व्यक्तिगत धारणा वा अनुमानका आधारमा अभिव्यक्ति दिन नहुने बताइन् ।
सांसद रखालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत असर पार्न सक्ने जोखिम रहेको उल्लेख गरिन् ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूभागबारे राजनीतिक दल, संसद र आम नागरिकबीच राष्ट्रिय एकता कायम रहेको स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आधिकारिक अडान कमजोर बनाउन सक्ने दाबी गरिन् ।
‘उक्त अभिव्यक्ति तथ्यमा आधारित हो भने सरकारले प्रमाण संसद र जनतासमक्ष प्रस्तुत गर्नुपर्छ,’ उनले भनिन्, ‘यदि असावधानीवश आएको हो भने तत्काल फिर्ता लिएर स्पष्टिकरण र क्षमायाचना गर्नुपर्छ ।’
सांसद रखालले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै जनताको विश्वास पुनःस्थापित गर्न आवश्यक रहेको बताइन् ।
उनले आवश्यकता परे पदबाट राजीनामा दिनेसम्मको साहस देखाउनुपर्ने धारणा राखिन् । साथै विवादित अभिव्यक्ति फिर्ता लिएर संसद सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
रखालले राष्ट्रियता कुनै दल, व्यक्ति वा सरकारभन्दा माथिको विषय भएको उल्लेख गर्दै नेपालको भूमि र सार्वभौमिकतामाथि प्रश्न उठाउने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने स्पष्ट पारिन् ।








