राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको हो ।

करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उनी निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताइन् ।

करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानबिन गरी सुशासनको मानक स्थापना गर्न समेत ओलीले सरकारको ध्यानाकर्षण गराए ।

उनले भनिन् ‘करका दरमा गरेको संशोधनको विषय यति गम्भीर भएको छ कि यस विषयमा निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भएको छ । त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको हिसाबले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ । म अर्थमन्त्रीज्यूलाई एउटा कुरा स्पष्ट गराउन चाहन्छु । अघिल्लो सरकारमा सहभागी हुँदा यही सदनमा भन्नुभएको थियो–शंकरदास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि । यो समस्या गम्भीर कुशासन र लुटको कुरा छ । संगठित भ्रष्टाचारको कुरा छ । आज सत्तापक्षमा हुनुहुन्छ, अब के गर्नुहुन्छ अर्थमन्त्रीज्यू रु आजपनि सुनपानी छर्किने कि निष्पक्ष छानबिन गरेर सुशासनको मानक स्थापना गर्ने ?’

संसदमा प्रस्तुत गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयकमा करका दरमा एकरूपता नभएको भन्दै अर्थमन्त्री वाग्लेको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =