गेटामा एमबीबीएस नपढाइए म पनि अनशन बस्छु: मेयर हमाल

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन-अध्यापन सुरु नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् ।
मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै अब सरकारले थप ढिलाइ गर्न नहुने बताएका छन् ।
उनले यही शैक्षिक सत्रदेखि गेटामा एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने चेतावनी दिएका छन् ।
गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर प्राध्यापक डा. गोविन्द केसी विगत बिहीबारदेखि अनशनमा छन् ।








