मलेसियामाथि १६७ रनको फराकिलो जितसहित नेपाल समूह विजेता

काठमाडौं । ओपनर कुशल भुर्तेलको लगातार दोस्रो शतकीय इनिङ्सको मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ ।

सिंगापुरमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको विस्फोटक इनिङ्स खेले । यससँगै उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसअघि चीनविरुद्धको खेलमा पनि भुर्तेलले १२९ रनको शतकीय इनिङ्स खेलेका थिए । लगातार दुई टी–२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडीहरूको सूचीमा उनी विश्वकै दशौँ ब्याटर बनेका छन् ।

आफ्नो शतकीय इनिङ्ससँगै भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बने । उनले ७८ खेलमा २ हजार २४० रन पूरा गर्दै दीपेन्द्रसिंह ऐरी लाई पछि पारेका हुन् । दीपेन्द्रले ९८ खेलमा २ हजार २११ रन बनाएका छन् ।

नेपालका लागि अर्का ओपनर आसिफ शेख ले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रनको आक्रामक योगदान दिए । कुशल र आसिफले पहिलो विकेटका लागि ९ ओभरभित्र १३४ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

सन्दीप जोरा १५ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्कासहित ३१ रन जोडे । लोकेश बमले १०, करण केसीले ७ रन बनाए भने कुशल मल्ल ९ रनमा अविजित रहे ।

मलेसियाका लागि विरानदीप सिंहले ३ विकेट लिए भने विजय उन्नी र कप्तान सैयद अजिजले समान २–२ विकेट हात पारे ।

विशाल लक्ष्य पछ्याएको मलेसियाको सुरुआत खराब रह्यो । ८ ओभरभित्र ३८ रन जोड्दा ५ विकेट गुमाएको टोलीका लागि कप्तान सैयद अजिज ले सर्वाधिक ५४ रन बनाए । उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनिएन्डीले १८ तथा मोहम्मद एइमानले १३ रन जोडे ।

नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक–एक विकेट लिए ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा चीनलाई २२१ रनले पराजित गरेको थियो । लगातार दुई प्रभावशाली जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =