नेपाल भारतबीच मनमुटाव गराएर विध्वंश मच्चाउने हर्कत नगर्नुस्, राजिनामा दिनुस्: नेकपा सांसद विश्वकर्मा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र साहको राजिनामा माग गरेका छन् ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्री साहले राष्ट्रघात गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।
उनले प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ नदिएर कपोलकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप लगाए । प्रधानमन्त्रीले दिएको ‘नेपालले भारतको भूमि अतिक्रमण गरेको रहेछ’ भन्ने अभिव्यक्ति उल्लेख गर्दै उहाँले त्यसको कुनै तथ्यगत आधार नरहेको दाबी गरे । उनले प्रधानमन्त्रीको उक्त भनाइले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि आँच पुगेको जिकिर गरे ।
प्रधानमन्त्रीको अभिव्यक्ति विखण्डनकारी र आत्मसमर्पणवादी भएको उनको दाबी छ । उनले प्रधानमन्त्रीसँग नेपालले भारतको कुन भूभाग, कहाँ र कति अतिक्रमण गरेको हो भन्ने यकिन तथ्याङ्क सार्वजनिक गर्न माग गरे । साथै, उक्त जानकारी कुन प्रतिवेदनमा आधारित हो भन्ने स्पष्ट पार्दै सम्बन्धित प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिन चुनौती दिए ।
सांसद विश्वकर्माले प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले नेपाली भुमीमा हस्तक्षेप गरेको आरोप समेत लगाए । उनका अनुसार नारायणी नदीमा निर्माणाधीन तटबन्ध रोक्न भारतीय पक्षले दबाब दिएको र निर्माण कार्य अवरुद्ध भएको छ । विदेशी फौज प्रयोग गरेर नेपालको निर्माण कार्य रोक्नु अर्को राष्ट्रघात भएको उनको भनाई छ ।
उनले भने ‘प्रधानमन्त्रीले सांसदको सोधेको प्रश्नको उत्तर दिन छाडेर नसोधिएको प्रश्नको झुट्टो कुराको पोको फुकाउनुभयो । म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाए, नेपालीले पनि भारतको मिचिएको रहेछ, भन्नुभयो । हालसम्म नेपाल र भारतलाई थाहै नभएको, सीमा विज्ञले समेत जानकारी नपाएको, कहीँ कतेबाट पनि पुष्टी नभएको कपोकल्पित, आधारहीन, नाङ्गो नाटकिय अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन्, नेपालको हित विपरित बोलेर राष्ट्रघात गर्नुभयो । प्रधानमन्त्रीको विखण्डनकारी अभिव्यक्तिको घोर आपत्ति र निन्दा गर्दछु । भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच पुयाउने कार्य प्रधानमन्त्रीबाट भएको छ, यस्तो राष्ट्रघाती प्रधानमन्त्रीलाई त्यही कुर्सीमा टाँसिरहने अधिकार छैन, विखण्डनकारी र आत्मासर्मपणवादी प्रधानमन्त्रीले तुरुन्तै राजिनामा दिनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साहलाई म सोध्न चाहन्छु, प्रधानमन्त्रीज्यू नेपालले भारतको जमिन कुन कुन स्थानमा, कति जग्गा अतिक्रमण गरेको छ रु राष्ट्रिय सभामा उभिएर यकिन तथ्याङ्कको माग गर्दछु । तपाईले प्राप्त गरेको तथ्याङ्क कुन प्रतिवेदनको हो ? त्यो प्रतिवेदनसहित राष्ट्रिय सभामा उपस्थित भएर जवाफ दिनुहोला । प्रधानमन्त्रीज्यू तपाईको भनाईकै उक्साहतमा भारतीय एसएसबीले नवलपरासी जिल्लाको सुस्तामा पुगेर नारायणी नदीमा निर्माणधिन तटबन्ध रोक्न ताण्डवनृत्य मच्चायो । निमार्ण कार्य रोक्न दादागिरि गरेर आज निर्माण कार्य रोकिएको छ । त्यो तपाईको कारणले हो । विदेशी फौज लिएर नेपालको निर्माण कार्य रोक्नु अर्को राष्ट्रघात हो । यो नाङ्गो लम्पसारवाद हो । नेपाल भारतको मनमुटाव गराएर द्वन्द मच्चाएर विध्वंश मच्चाउने अब अर्को हर्कत तपाई नगर्नुस्, त्यो भन्दा राजिनामा दिएर आराम गर्दा नै राम्रो हुन्छ ।’
नेपाल–भारत सम्बन्ध हाल चिसिएको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीका सभापतिलाई दूतका रूपमा भारत पठाएको भन्दै विश्वकर्माले त्यसलाई चाकडीबाजको संज्ञा दिए । उनले लिपुलेक क्षेत्रमा भारतले चीनसँगको व्यापारिक नाका सञ्चालन गरेर नेपालमाथि हस्तक्षेप गरेको बताए ।
भारतले नेपालको ६ हजार २ सय ६२ हेक्टर भूमि कब्जा गरेको दाबी गर्दै उहाँले नेपालले हालसम्म कुनै पनि देशको भूमि अतिक्रमण नगरेको बताए ।








