नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै ठूलो धक्का व्यहोर्‍यो: विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा ठूलो धक्का र पराजय व्यहोरेको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामबारे टिप्पणी गर्दै उनले भदौ २३–२४ का घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नुपरेको बताए ।

‘२००६ सालदेखि आजसम्मको नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई समग्रमा मूल्याङ्कन गर्ने हो भने अहिलेको धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो,’ पौडेलले भने ।

उनले आन्दोलनको भविष्यबारे विभिन्न आशंका र टिप्पणीहरू भइरहेका उल्लेख गर्दै कम्युनिस्ट आन्दोलन समाप्त हुने निष्कर्षमा पुग्न नहुने बताए ।

‘कतिपयलाई लागेको छ, अब यो आन्दोलन उठ्न सक्दैन । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन्,’ उनले भने, ‘तर हामी यो धक्कालाई चिर्नेछौँ, असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ ।’

पौडेलले आन्दोलनलाई पुनर्जीवित गर्न जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले जनतासँगको सम्बन्ध सुदृढ गर्दै पार्टीभित्रका कमजोरी सुधार गरेर नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी जनतातिर फर्किनेछौँ, कार्यकर्तातिर फर्किनेछौँ र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ संकल्पका साथ अघि बढ्नेछौँ,’ उनले भने ।

उनले वर्तमान अवस्थालाई आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै कम्युनिस्ट आन्दोलन पुनः सशक्त रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =