टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनी हाल ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो । अनुसन्धानका क्रममा उनी फरार भई विदेश गएको खुलेपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरेको थियो ।
उनीविरुद्ध गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी दर्ता भएको थियो । अनुसन्धानका क्रममा अधिकारीका बैंक खातामा ठूलो परिमाणमा रकम कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत अघि बढाइएको प्रहरीले जनाएको छ ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध जाहेरी दिएका थिए । उजुरीपछि अनुसन्धान सुरु भएलगत्तै अधिकारी फरार भएकी थिइन् ।
प्रहरीले उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।








