नयाँ नेतृत्वसहित उद्योग व्यापार महासंघको आर्थिक सुधार एजेन्डा सार्वजनिक

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा आफूहरू निरन्तर सक्रिय रहेको बताउँदै उत्पादनमुखी अर्थतन्त्र, स्वदेशी उद्योग संरक्षण तथा व्यापार विविधीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने जनाएको छ।

महासंघले जेठ ३ गते आइतबार पत्रकार सम्मेलन गर्दै चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट खिमनारायण पराजुली को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हो । महासंघका अनुसार महाधिवेशनबाट मनोनित बाहेक ९२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ भने पछि थप ७ जना मनोनित गरिएसँगै कार्यसमिति ९९ सदस्यीय बन्नेछ ।

“राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण” भन्ने मूल नारासहित २०७९ असार ३१ गते स्थापना भएको महासंघले आगामी दिनमा देशको आर्थिक समृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन तथा रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्ने जनाएको छ ।

महासंघले वर्तमान आर्थिक चुनौतीबाट साना तथा मझौला उद्योगी–व्यवसायीलाई उकास्न सहुलियतपूर्ण नीति, सहज वित्तीय पहुँच, कर प्रणाली सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग निरन्तर पहल गरिने उल्लेख गरेको छ ।

राष्ट्रिय पूँजी, श्रम, उत्पादन र बजारको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा थप प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता पनि महासंघले व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा शैक्षिक परामर्श संस्थामाथि गरिएको अनुगमनबारे पनि महासंघले धारणा सार्वजनिक गरेको छ। जेठ १ र २ गते ९५ वटा शैक्षिक परामर्श फर्ममा छापा मारिएको र केही बाहेक अधिकांशमाथि कारबाही प्रक्रिया अघि बढाइएको विषयमा महासंघले अवैधरूपमा सञ्चालन भइरहेका व्यवसायलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न दबाब दिनुपर्ने बताएको छ ।

कानुन विपरीत सञ्चालन भइरहेका फर्ममाथि कानुनअनुसार कारबाही गर्नुको विकल्प नरहेको महासंघको भनाइ छ ।

त्यसैगरी सरकारले हालै लागू गरेको एमआरपी सम्बन्धी व्यवस्थाप्रति महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ । बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्य स्वागतयोग्य भए पनि यसको कार्यान्वयन व्यवहारिक, सहज र व्यवसायमैत्री हुनुपर्ने महासंघको धारणा छ ।

महासंघले नेपालको बजार संरचना, साना तथा मझौला व्यवसायीको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियालाई ध्यानमा राख्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ । न्यून बिजकको समस्या निर्मूल गर्दै व्यवसायीमैत्री वातावरण बनाएर मात्र यसको प्रभावकारी कार्यान्वयन सम्भव हुने महासंघले जनाएको छ ।

एमआरपी कार्यान्वयन प्रभावकारी बनाउन उद्योगी, व्यवसायी तथा सरोकारवालासँग पर्याप्त परामर्श, साना व्यवसायीका लागि अभिमुखीकरण कार्यक्रम, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा क्यूआर/बारकोड प्रणालीको विकास तथा प्रारम्भिक चरणमा सुधारमुखी अनुगमन नीति आवश्यक रहेको महासंघको सुझाव छ ।

महासंघले पर्यटन उद्योगमा सेवा, सुविधा र आतिथ्यसमेत जोडिने भएकाले यस क्षेत्रमा विद्यमान एमआरपी प्रावधान व्यवहारिक नभएको उल्लेख गर्दै छुट्टै व्यवस्था आवश्यक रहेको जनाएको छ। साथै बजार व्यवस्थापनको नाममा व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना नगर्न सरकारसँग आग्रह गर्दै उपभोक्ता हित संरक्षण र व्यवसायीमैत्री वातावरणलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

एमआरपी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र उपभोक्ता पक्षबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको महासंघको विश्वास छ। पत्रकार सम्मेलनमार्फत महासंघले उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा सरोकारवाला निकायप्रति सहयोग, सद्भाव र ऐक्यबद्धताका लागि धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =