महेश बस्नेत पक्राउको माग गर्दै माइतीघरमा शोभा पाठकको आमरण अनसन

एमाले नेता बस्नेतलाई पक्राउ गर्न माग गर्दै पाठक माइतीघर मण्डलामा आमरण अनसनमा बसेकी छन्

काठमाडौँ। नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक माइतीघर मण्डलामा आमरण अनसनमा बसेकी छन्। उनले बलात्कारपछि भ्रूण हत्या र डाँका चोरीसम्बन्धी आरोप लगाउँदै बस्नेतमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेकी छन्।

अनसन स्थलमा राखिएको ब्यानरमार्फत पाठकले विभिन्न प्रश्न र माग सार्वजनिक गरेकी छन्। ब्यानरमा बस्नेतलाई “बलात्कारी, भ्रूण हत्यारा, चोर” भन्दै तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ। साथै, “एमालेले खोजेको, भक्तपुरले लुकाएको र जेलले रोजेको” भन्ने आरोपसमेत राखिएको छ।

पाठकले उच्च अदालत पाटन, ललितपुरमा रहेको आफ्नो मुद्दाको फाइल तत्काल प्रहरीलाई बुझाउन, अनावश्यक रूपमा मुद्दा ढिलाइ गर्ने कार्य रोक्न र न्याय प्रक्रिया प्रभावित पार्ने काम बन्द गर्न माग गरेकी छन्। “ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो” भन्दै उनले छिटो न्याय दिलाउन सरकारसमक्ष आग्रह गरेकी छन्।

उनले पटक–पटक न्यायको हत्या गर्न नहुने, अपराधीको पक्ष पोषण गर्न नहुने र न्यायका लागि सडक आन्दोलन गर्न बाध्य नपार्न चेतावनीसमेत दिएकी छन्। साथै, बस्नेतलाई पक्राउ गर्न नसक्नु सरकारको कमजोरी वा कुनै मुद्दासँग साटफेर गरिएको आशङ्का उठाउँदै उनले निष्पक्ष छानबिनको माग दोहोर्‍याएकी छन्।

पाठकको अनसन जारी रहँदा सम्बन्धित निकायले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =