रातो मत्स्येन्द्रनाथको रथ निर्माण हुँदै (तस्बिरहरू)
नेपालकै सबैभन्दा लामो मानिने वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्रा यस वर्ष वैशाख ८ गतेदेखि सुरु हुने भएको छ

काठमाडौँ। नेपालकै सबैभन्दा लामो मानिने वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ जात्रा यस वर्ष वैशाख ८ गतेदेखि सुरु हुने भएको छ। जात्राको मुख्य आकर्षण मानिने मत्स्येन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोक क्षेत्रमा अहिले तीव्र गतिमा रथ निर्माणको काम भइरहेको छ।
नेवारी परम्पराअनुसार तिथि अनुसार ‘पारु’ देखि सुरु हुने रथ निर्माण प्रक्रिया सुरु भएको १५ दिनभित्र सक्नुपर्ने मान्यता छ। रातो मच्छिन्द्रनाथ को महास्नानपछि बाराही समूहले रथ निर्माणको काम प्रारम्भ गर्छन्।
परम्परागत रूपमा रथ निर्माणमा बाराही र ञवाल समुदायको विशेष भूमिका रहँदै आएको छ, जहाँ बाराहीले काठसम्बन्धी मुख्य संरचना तयार पार्छन् भने ञवालले थप तल्ला बनाउने, बेत, डोरी र ‘लसी’ अर्थात् १६ वटा लामो काठ तयार गर्ने जिम्मेवारी सम्हाल्छन्।
महास्नानको भोलिपल्ट रथ निर्माण स्थलमा खाल्डो खनेपछि काठको काम सुरु गरिन्छ। ‘याःक ख’ सम्मको संरचना तयार भएपछि त्यसमा थप तल्ला निर्माण गरिन्छ। हाल रथ निर्माणमा करिब ३५ जना कारिगर खटिएका छन्।
रथारोहणका दिन ‘बायम्व’ राख्ने परम्परा पनि छ। भोटो जात्रा को दिन ञवाल समुदायले ‘बायम्व’ माथि राखिएको स्वयम्भूनाथ स्तूप को प्रतीकात्मक मूर्ति निकाल्ने गर्छन्। त्यसपछि ‘बायम्व’ खसालिन्छ, जसलाई वर्षा हुने–नहुने सङ्केतका रूपमा धार्मिक विश्वासले जोडेर हेरिन्छ।
तस्बिरहरूः–









