सम्पत्ति शुद्धीकरण मुद्दाः रवि लामिछानेसहितको रिट पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रवि लामिछानेसहित प्रतिवादीहरूविरुद्ध दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी रिट संशोधन विवादको मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

चार दिनसम्म सुनुवाइ गरेपछि इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । यसबारे विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको छ ।

यसअघि निवेदक आयुष बडालले बहसका क्रममा मुद्दा टुंग्याउन पूर्ण इजलास गठनको माग गरेका थिए ।

पूर्ण इजलास भनेको तीन वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलास हो । यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले पनि सुनुवाइ गर्दै महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो ।

त्यस्तै, फागुन २७ गते न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पनि मुद्दालाई पूर्ण सुनुवाइका लागि अघि बढाउन आदेश दिएको थियो ।

रविका हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते निर्णय गरेकी थिइन् । त्यसपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो ।

तर उक्त निर्णयको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्चमा तीनवटा रिट दायर भएका छन् ।

निवेदक युवराज सफलले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी रहेको भन्दै कार्यान्वयन नगर्न माग गरेका छन् । साथै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दा कमजोर पार्न खोजिएको आरोपसमेत लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =