ओली पक्राउ परेपछि एमाले नेता पण्डितले भने– प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ

काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन् । देशका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उनकाे भनाइ छ ।
उनले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिएका छन् । पण्डितकाअनुसार पार्टीले राजनीतिक प्रतिवाद गर्नेछ । जुन सडक संघर्ष मात्र नभई अन्य विभिन्न स्वरूपको हुनसक्छ ।
‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको शुरुवात गरिएको छ । प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन । त्यसकारणले गर्दाखेरि प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौं, कानूनी उपचारको पक्षमा जान्छौं’, उनले भने, ‘म भन्न चाहन्छु, प्रधानमन्त्री भइसकेपछि कुनै ठाउँमा कतै पनि प्रहरीले गोली चलाउँछ कि चलाउँदैन ? यदि कुनै ठाउँमा गोली चल्यो भने फेरि प्रधानमन्त्री नै फेरि जेल जानुपर्ने, गृहमन्त्री नै फेरि जेल जानुपर्ने स्थिति भयो भने देशको कुनै पनि गृहमन्त्री, कुनैपनि प्रधानमन्त्री सुरक्षित रहनेछैन ।’
उनले पक्राउको यो पहिलो निर्णय दुर्भाग्यपूर्ण रहेको र यसले देशमा अशान्ति निम्त्याउने दाबी गरेका छन् ।








