सत्यको मूल्य र व्यङ्ग्यको धार बोकेको ‘चरणदास चोर’ (तस्बिरहरू)

काठमाडौं । भारतीय रङ्गमञ्चका प्रतिष्ठित स्रष्टा हबीब तन्वीरद्वारा रचित कालजयी नाटक ‘चरणदास चोर’ को मण्डला थिएटरमा नियमित मञ्चन सुरु गरिएको छ । हास्य, व्यङ्ग्य र गहिरो सामाजिक सन्देशले भरिएको यस नाटकले दर्शकलाई मनोरञ्जनसँगै समाजको यथार्थतर्फ सोच्न प्रेरित गरेको छ ।
रङ्गकर्मी राजन खतिवडा र आशान्त शर्माले नेपालीमा रूपान्तरण गरेको नाटकमा चरणदास नामक चोरको कथा प्रस्तुत गरिएको छ, जसले आफ्नो गुरुसँग केही प्रतिज्ञा गरेको हुन्छ । जीवनका अनेक परिस्थितिले ती प्रतिज्ञा तोड्न बाध्य पार्ने प्रयास गरे तापनि चरणदास आफ्नो अडानमा अडिग रहन्छ । यही सङ्घर्षले कथा अघि बढ्दै जाँदा अन्तमा आफ्नो प्रतिज्ञा पालन गर्दै राजा बन्ने अवसर त्यागेर चरणदासले मृत्यु रोज्छ ।
लोकसंस्कृतिको रङ्ग, गीत–सङ्गीत र हास्यरस सहितको सरल संवादले भरिएको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ । सामाजिक विसङ्गति र नैतिकताको प्रश्नलाई व्यङ्ग्यात्मक ढङ्गले उठाएको ‘चरणदास चोर’ भारतीय रङ्गमञ्चको अत्यन्त लोकप्रिय कृतिमध्ये एक मानिन्छ । समय परिवर्तन भए तापनि सत्य, इमानदारी र सत्ताको सम्बन्धबारे उठाइएका प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक देखिन्छन् ।
यो नाटक सन् २०१० मा राजन खतिवडाको निर्देशनमा पाटन दरबार स्क्वायरमा र सन् २०१३ मा अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन गरिएको थियो । अहिले मण्डला थिएटरका ल्याब १८ औँ ब्याचका विद्यार्थीहरूले अभिनय गरेर पुनः यो नाटकलाई मञ्चमा ल्याइएको हो ।
रङ्गकर्मी मिलन कार्कीले निर्देशन गरेको नाटकमा ल्याब १८ औँ ब्याचका विद्यार्थी कलाकारहरू विश्व विजय बि.क., विनय पन्त, विनिता गिरी, अनुस्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्बता भुसाल, दुर्गा पौडेल (जुनु), सरिता नेपाली, टेक बहादुर खाती, रिजन थिङ्ग लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घले, ओजश लामा, मनिला राना मगर, साङ्केनमा राई, रचना पाण्डेय, गिरीश रत्न शाक्य, योदिश न्यौपाने, सर्फराज अधिकारी, भरत बुढा र सक्षम कोइरालाले अभिनय गरेका छन् ।
करिब एक घण्टा १५ मिनेट लामो यो नाटक यही फागुन २८ गतेदेखि चैत ११ गतेसम्म सोमबारबाहेक हरेक साँझ ५:१५ बजे र शनिबार दिउँसो १:१५ बजे अतिरिक्त शो मञ्चन हुँदै छ ।
तस्बिरहरू :-









