मतदातासँग कुलमान : काठमाडौं-३ को घरदैलोमा देखिएका केही दृश्यहरू

काठमाडौं । आगामी निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ । यसै क्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं सोही क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार कुलमान घिसिङले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारेका छन् ।
अध्यक्ष घिसिङले आज गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ आसपासका क्षेत्रमा मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बिहानैदेखि सुरु भएको घरदैलोमा उनले स्थानीय बासिन्दाका समस्या सुन्दै आफ्नो पार्टीको ‘उज्यालो र समृद्ध’ नेपाल बनाउने एजेन्डाका बारेमा जानकारी गराएका थिए ।
घरदैलोका क्रममा मतदाताहरूले घिसिङलाई भव्य स्वागत गर्दै स्थानीय पूर्वाधार, खानेपानी र ढल निकास जस्ता समस्याहरूको समाधान गर्न आग्रह गरे । जवाफमा उम्मेदवार घिसिङले आफू कुरा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै काठमाडौं-३ का जनताको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।









