टुँडिखेलमा यसरी मनाइयो २६३औं सेना दिवस (तस्बिरहरु)

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव अर्थात् सेना दिवस सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहका बीच भव्य रूपमा मनाएको छ । महाशिवरात्रिको अवसरलाई सेनाले विगत लामो समयदेखि ‘सेना दिवस’ का रूपमा मनाउँदै आएको छ ।
समारोहमा नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएको थिए । कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेका राष्ट्रपति पौडेललाई सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो । सो अवसरमा राष्ट्रपतिले सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सरकारका उच्च पदस्थ अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू एवं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो । सैनिक मञ्चमा आयोजित उक्त विशेष प्रदर्शनमा नेपाली सेनाले आफ्नो विशिष्ट सामरिक कौशल प्रदर्शन गरेको थियो ।
समारोहमा सेनाका विभिन्न गुल्म र गणहरूबाट आकर्षक मार्चपास्ट, राइफल तथा तोपको हर्षबढाइँ, खुकुरी ड्रिल र मास पिटी प्रस्तुत गरिएको थियो । साथै, विभिन्न जातजातिको पहिचान झल्किने परम्परागत सांस्कृतिक झाँकी र नाचहरूले समारोहलाई थप रोचक बनाएका थिए ।
नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनसेवामा समर्पित नेपाली सेनाले विक्रम संवत् १८१९ देखि नै महाशिवरात्रिको दिनलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउने गौरवमय परम्परालाई निरन्तरता दिँदै आएको छ ।
तस्बिरहरु :-









