पूर्व राजा आउने भएपछि त्रिभुवन विमानस्थल क्षेत्रमा कडाइ (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । झापाबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न समूहहरूले तयारी गरेपछि सम्भावित भिड र प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले सुरक्षा सतर्कता उच्च पारेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी आगामी एक महिनासम्मका लागि विमानस्थल वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा हुनसक्ने प्रदर्शन र भेलालाई रोक्न प्रशासनले यो कदम चालेको बुझिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान तथा अन्य राजावादी संघ-संस्थाहरूले शुक्रबार पूर्वराजा शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने घोषणा गरेका थिए । तर, प्रशासनले विमानस्थल प्रवेश गर्ने मुख्य ‘गोल्डेन गेट’ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ र विमानस्थल हाताभित्रका सम्पूर्ण सडक खण्डमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

निषेधित क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस वा कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रशासनको यो कडाइका बाबजुद पनि राजावादी अभियन्ताहरूले स्वागतका लागि उपस्थित हुने अडान राखेपछि विमानस्थल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिएको छ ।

विमानस्थल भित्र छिर्ने यात्रु र उनीहरूका आफन्तलाई समेत कडाइका साथ चेकजाँच गरिएको छ । प्रहरीले अनावश्यक रूपमा मानिसहरूलाई एकै ठाउँमा जम्मा हुन दिएको छैन भने शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ ।

तस्बिरहरू :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =