निर्वाचनका लागि जलेको सिंहदरबारको आँगनमा उभिएका गाडीहरू (तस्बिरहरू)

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारबाट प्राप्त सहयोगअन्तर्गतका सवारीसाधन जलेको सिंहदरबार भवन अगाडि राखिएका छन्।
आगलागीको घाउ बोकेको सिंहदरबारको छायाँमा पार्क गरिएका यी गाडीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारबाट प्राप्त सहयोगका सवारीसाधन हुन्।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार भारतले निर्वाचनका लागि करिब ६५० वटा विभिन्न किसिमका सवारीसाधन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तीमध्ये यसअघि पहिलो चरणमा ६० भन्दा बढी गाडी नेपाललाई हस्तान्तरण भइसकेको थियो भने दोस्रो चरणसँगै हालसम्म तीन सय १० वटाभन्दा बढी सवारीसाधन नेपाल सरकारको स्वामित्वमा आइसकेका छन्।
गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायता माग गरेको थियो। सोही अनुरोधअनुसार भारत सरकारले क्याबिन पिक भ्यानसहित साना–ठुला गरी सयौँ गाडी नेपाललाई उपहारस्वरूप उपलब्ध गराएको हो। ती गाडीहरू अहिले जलेको सिंहदरबार भवन अगाडि, संसद् सचिवालयको पार्किङ तथा आसपासका क्षेत्रमा राखिएका छन्।
भारत सरकारले सन् २००८ देखि नेपालमा निर्वाचनसम्बन्धी सहयोग गर्दै आएको छ। यस पटक पनि दुई देशबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै भारतले निर्वाचन व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र सुरक्षासम्बन्धी सामग्री सहयोग गरिरहेको छ। निर्वाचन सम्पन्न भएपछि यी गाडीहरू नेपाल सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
तस्बिरहरू:-









