१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु

काठमाडौँ। शेर्पा समुदायको सबैभन्दा ठुलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ। यो प्रतियोगिता खुम्बु ल्होसार कपको १५औँ संस्करण हो।
शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औँ संस्करण महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको हो। महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमका अध्यक्ष फर गर्जे शेर्पाका अनुसार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडो यामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए।
प्रतियोगिताले फुटबल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबिच एकता मजबुत बनाउनु हो। यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औँ संस्करण यस पटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएका छन् । यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुवैको प्रवर्द्धन गर्नु हो, उनले भने। ल्होसार पर्वको अवसरमा आयोजना हुँदै आएको खुम्बु ल्होसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवका रूपमा विकास हुँदै आएको छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =