२० औँ एशियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्छौंः सदस्यसचिव मेहता

काठमाडौँ । जापानमा आयोजना हुने आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने खेल र खेलाडीको टुङ्गो लागेको छ ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले आगामी २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको तर्फबाट २३ वटा खेल र एक सय ४१ जना खेलाडीको प्रतिस्पर्धा रहने जानकारी दिएका हुन् ।

अन्तिम खेलाडी छनोट प्रक्रिया भने अझै बाँकी रहेको उनी बताउँछन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजना भएको ‘नेपाल इन एशियन गेम्स’ विषयक अन्तरसंवाद कार्यक्रममा राखेपका सदस्यसचिव मेहताले आगामी एसियन गेम्सको तयारीका लागि सम्बन्धित खेल सङ्घहरूसँग पनि छलफल अगाडि बढाइएको जानकारी दिए ।

एशियन गेम्सका लागि खेलाडीहरूलाई आगामी महिनाको मध्यतिर वैदेशिक प्रशिक्षणमा समेत पठाइने योजना रहेको उनको भनाइ छ । अबको दुई तीन महिनालाई भरपूर सदुपयोग गर्ने उनले स्पष्ट पारेका छन् । एशियन गेम्सको तयारीका लागि दुई करोड ८० लाख रुपैयाँ सरकारबाट विनियोजन भएको सदस्यसचिव मेहताले बताएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि थप ११ करोड २० लाख रुपैयाँ छुट्याइएको उनले बताए । १९ औँ एशियन गेम्सको तुलनामा अहिले तयारीका लागि आवश्यक बजेट घटेको उनको भनाइ छ ।

आगामी सेप्टेम्बर १९ तारिखदेखि अक्टोबर ४ तारिखसम्म जापानको नागोया र आइची शहरमा एशियन गेम्स आयोजना हुँदैछ । सोही एसियन गेम्सका लागि सरकारको तयारीबारे खेलकुद पत्रकार मञ्चले सरोकार पक्ष राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई एकै ठाउँमा राखेर अन्तर संवाद कार्यक्रम आयोजना गरेको हो ।

एनओसीको निर्वाचनका कारण सरकार र एनओसीबीच सम्वादहिनको अवस्था थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) एनओसीलाई मान्यता दिएको थिएन । झन्डै डेढ वर्षपछि राखेप र एनओसी नेतृत्व एउटै औपचारिक कार्यक्रममा सँगै देखिएका हुन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टरमा रहेर एनओसीले काम गरिरहेको बताए । खेल संघ, राखेप र एनओसीको सहकार्य गरेर अगाडि बढिरहेको श्रेष्ठले उल्लेख गरे । एशियन गेम्सका लागि छनोट पार गरेर खेल्नुपर्ने प्रावधान आइसकेकाले खेलसंख्या घट्दै गएको उनको भनाइ छ ।

एशियन गेम्स खेल्नका लागि पनि चुनौती बढ्दै गएको उनी बताउँछन् ।

चीनमा भएको गत १९औँ एशियन गेम्समा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । करातेकी एरिका गुरुङले रजत पदक र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । उक्त कार्यक्रममा करातेकी एरिका गुरुङले एउटा नेपाली खेलाडीले पदक जित्ने सपना देख्न प्रतियोगिता एशियन गेम्स रहेकाले यसको महत्त्व रहेको बताइन् ।

एसियन गेम्सको सहभागी हुँदा खेलाडीले धेरै चुनौती सामना गर्नुपर्ने अवस्था आउने गरेको सुनिँदै आए पनि आफूहरूले त्यो अवस्था भोग्नु नपरेको बताइन् । सहभागिताका लागि नै खेलाडी एशियन गेम्समा नजाने र पदक जित्नकै लागि त्यहाँ जाने उनको भनाइ छ । गत एसियन गेम्सलगत्तै तयारी हुनु सकारात्मक रहेको उनी बताउँछिन् । आगामी एसियन गेम्स पदकको राम्रो आशा गर्न पनि सकिने उनको विश्वास छ ।

नेपालले आगामी एशियन गेम्समा कराते, महिला कबड्डी, आर्चरी, कुस्ती, उसु, पुरुष क्रिकेट, एथलेटिक्स, जुडो, महिला भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, ब्रेकिङ एन्ड डान्स स्पोट्र्स, साइक्लिङ, ईस्पोट्स, गल्फ, र्याफ्टिङ एन्ड क्यानोइङ, पौडी, स्क्वास, सफ्ट टेनिस, स्केट एन्ड स्केटबोर्डिङ, टेबल टेनिस, बक्सिङ र टेनिसमा प्रतिस्पर्धा हुने तय भएको छ । अघिल्लो संस्करणमा नेपालले २६ खेलमा सहभागिता जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =