फिफा विश्वकप २०२६

रोनाल्डोको पोर्चुगल र मोड्रिचको क्रोएसिया विश्वकपको नकआउटमा पहिलोपटक आमनेसामने हुँदै

विश्व फुटबलका दुई लेजेन्ड क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका कारण पनि यो भिडन्तले विश्वभरका फुटबल प्रेमीहरूको ध्यान तानेको छ

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को बहुप्रतीक्षित भिडन्तमा शुक्रबार बिहान दुई युरोपेली फुटबल महाशक्ति पोर्चुगल र क्रोएसिया आमनेसामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान ४ः४५ बजे क्यानडाको टोरन्टो स्टेडियममा सुरु हुनेछ।

विश्व फुटबलका दुई लेजेन्ड क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका कारण पनि यो भिडन्तले विश्वभरका फुटबल प्रेमीहरूको ध्यान तानेको छ। क्लब र अन्तर्राष्ट्रिय फुटबलमा वर्षौंदेखि एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका यी दुई भेट्रान कप्तान फिफा विश्वकपको इतिहासमा पहिलोपटक नकआउट चरणमा आमनेसामने हुन लागेका हुन्।

विश्वकपको इतिहासमा यी दुई टोलीबीच यो दोस्रो भेट हो। यसअघि सन् २००६ को जर्मनी विश्वकपको समूह चरणमा पोर्चुगल र क्रोएसिया भिडेका थिए, जसमा पोर्चुगल १–० ले विजयी भएको थियो। यद्यपि, विश्वकपको नकआउट  चरणमा भने यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन्।

समग्र अन्तर्राष्ट्रिय फुटबलको हेड-टु-हेड इतिहासलाई हेर्दा पोर्चुगल केही बलियो देखिन्छ। हालसम्म भएका खेलहरूमा पोर्चुगलले स्पष्ट वर्चस्व कायम राखेको भए पनि विश्वकपको नकआउट चरणमा क्रोएसियाको ‘कमब्याक’ गर्ने शैलीलाई कम आँक्न नसकिने फुटबल विश्लेषकहरू बताउँछन्।

यस्तो छ दुवै टोलीको अन्तिम ३२ सम्मको यात्रा

पोर्चुगल समूह ‘के’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। आफ्नो पहिलो खेलमा डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको थियो। उक्त खेलमा कप्तान रोनाल्डोले दुई गोल गरेका थिए। समूहको अन्तिम खेलमा कोलम्बियासँग गोलरहित  बराबरी खेल्दै पोर्चुगलले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

यता, क्रोएसियाले समूह ‘एल’ बाट दुई जित र एक हारको नतिजासहित नकआउटको यात्रा तय गरेको हो। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४–० को भारी अन्तरले पराजित भएपछि दबाबमा परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्‍यो। उसले दोस्रो खेलमा पानामालाई ५–० र अन्तिम खेलमा घानालाई २–१ ले पराजित गर्दै उच्च आत्मविश्वासका साथ अन्तिम ३२ मा ठाउँ बनाएको हो।

स्टार खेलाडीहरूको प्रतिष्ठाको लडाईं

पोर्चुगलको आक्रमणको नेतृत्व सधैँझैँ कप्तान क्रिस्टियानो रोनाल्डोले गर्नेछन्। उनीसँगै ब्रुनो फर्नान्डिस, बर्नार्डो सिल्भा, राफाएल लिआओ र जोआओ नेभेसजस्ता विश्वस्तरीय खेलाडीहरूको साथ टोलीलाई छ। अनुभव र युवा खेलाडीहरूको उत्कृष्ट सन्तुलन नै पोर्चुगलको मुख्य हतियार हो।

अर्कोतर्फ, क्रोएसियाको सम्पूर्ण आशा र रणनीति भेट्रान मिडफिल्डर लुका मोड्रिचमाथि टिकेको छ। माटेओ कोभाचिच, जोस्को ग्वार्डियोल, आन्द्रेज क्रामारिच र मारियो पासालिचजस्ता भरपर्दा खेलाडीहरूले क्रोएसियाको टोलीलाई सन्तुलित र मजबुत बनाएका छन्। बलमाथि नियन्त्रण राख्ने, धैर्यपूर्ण मिडफिल्ड खेल र काउन्टर अट्याक क्रोएसियाको मुख्य शक्ति बन्न सक्छ।

दुवै टोलीका कप्तान आधुनिक फुटबलका सर्वकालीन महान खेलाडीहरू हुन्। एकातिर पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो छन् भने अर्कोतर्फ सन् २०१८ को बालोन डी’ओर विजेता तथा क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका मोड्रिच छन्। त्यसैले यो खेललाई दुई पुस्ताका महान फुटबलरबीचको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।

शुक्रबारको खेल जित्ने टोलीले सिधै अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा यहीँ सकिनेछ। ‘गर या मर’ को यो खेलमा दुवै टोली जितका लागि आफ्नो पूर्ण शक्ति लगाउने दाउमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =