सरकारको हस्तक्षेपले मात्र फिफाले एन्फालाई निलम्बन गरेको होइनः मन्त्री पोखरेल

काठमाडौं । सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

यसअिघका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको दाबी उनले गरे । नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै उनले खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने जिकिर गरे । उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे ।

साथै उनले एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताए । फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै पोखरेलले उनीहरु आएपछि विस्तृत छलफल गरिने बताए ।

उनले भने, ‘अहिलेसम्म हेर्दा सरकारबाट एन्फामा विगतमा धेरै पटक हस्तक्षेप भएको थियो । त्यसमा अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू पनि हामीलाई परेका छन् । उहाँहरूले छानबिनको प्रतिवेदन बुझाउने बित्तिकै आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाउने काम पनि गर्छौँ । फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन ।’

नेपालको फुटबललाई जसरी भएपनि माथि उठाउने अठोट सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभई नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको उनले बताए ।

उनले भने, ‘ नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने अठोट हाम्रो छ । अब बन्ने एन्फामा राजनीतिक आधारमा होइन, नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने हाम्रो योजना छ ।’

मन्त्री पोखरेलले अब बन्ने एन्फा पनि नेपालको फुटबललाई योगदान दिएका, फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तित्वहरूको संस्था बनाइने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =