उमेरसँग जुध्दै बदाम बेच्ने ‘भीम बहादुर’ (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर, पेप्सीकोला मनोहरा पुल नजिक करिब ७० वर्षीय भीम बहादुर लामा विगत ८ वर्षदेखि बदाम बेच्दै आएका छन् ।
उनी ठमेलबाट भुटेका बदाम ल्याउने र हाँडीमा तातो बनाएर बेच्ने काम गर्छन् ।
उनले ग्राहकहरूलाई मानाको रु ५० र आधा मानाको रु ३० का दरले बदाम बेच्छन् ।
‘ठमेलबाट भुटेको बदाम ल्याउने, अनि ग्राहकले तातो खोज्छ, हाँडीमा दाउरा हालेर तातो बनाएर बेच्ने । अनि मिठो बास्ना आउँछ । गज्जबसँग ।’ उनले भने ।
उनका अनुसार बदाम बेचेर खास्सै फाइदा हुँदैन् । तर समय बिताउन र चिया–पानीका लागि उनी व्यापार गर्न रुचाउँछन् ।
उनी भन्छन् ‘ टाइमपास । चिया खानुपर्छ । छोरा बुहारी भएर के गर्ने ?’
उनले एक पाथी बदाम बेच्दा डेढ सय जति फाइदा आउने बताए ।
‘ग्राहक कत्तिको आउँछन् ?’ भन्ने प्रश्नमा उनी जवाफ दिन्छन् ‘बदाम बेच्ने मान्छे धेरै छ नानी तर म यहाँ मलाई चिनेका ग्राहकहरू धेरै आउँछन् । दुई माना डेढ माना लान्छन् के ।’
त्यसैगरी उनले अफसिजनमा भने मकै बेच्छन् । व्यापारीले गाडीमा मकै ल्याउँछन् अनि उनले एक घोगा मकैको १५ देखि १८ रुपैयाँ तिरेर किन्छन् ।
‘त्यसमा पनि किराले खाएको, दाना नभएको पर्यो भने फाइदा बस्दैन फेरि । बारा, चितवनबाट मकै आउँछ । अब माघ १५ देखि चाहिँ आउँछ भनेको छ, खै आउँछ कि आउँदैन ।’ उनका लवज सुन्दा लाग्छ उनी मकै बेच्न झनै उत्साहित छन् ।
उनले त्यहाँ व्यापार गर्दा नगरपालिकाले दुख दिने गरेको बताए । उनले २–३ पटक छाप्रो भत्काउन आएपनि झाडी फाँडेर, प्लाइ, प्लास्टिक बेरेर, घाम तर्काएर आफू त्यहाँ बसेको बताए ।
अन्त्यमा ‘बुढेसकालमा काम गर्नुपर्दा दु:ख लाग्दैन बा ?’ भन्ने प्रश्नमा उनी भन्छन् ‘के दु:ख मान्नु । काम गर्नुपर्यो, खानुपर्यो । मुखलाई खान मन लाग्छ । पेटले खोजिहाल्छ ।’
उनी बिहान करिब ११ बजेदेखि बेलुकी ५ बजेसम्म त्यहाँ बदाम बेच्छन् ।
हेर्नुहोस् तस्बिरहरू:









