रास्वपा सिंहदरबार जलाउने स्टेकहोल्डर हो, निर्वाचनमा जित्दैन: एमाले

काठमाडौँ । नेकपा ९एमाले०का उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गरेका छन् ।
जेन–जी आन्दोलनको क्रममा सिंहदरबार जलाउने एउटा स्टेकहोल्डरको रूपमा सो पार्टी रहेकाले पनि सो पार्टीको कुनै भविष्य समेत नरहेको उनको जिकिर थियो ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको सो पार्टीले स्थापित राजनीतिक दलहरूको विरोध गरेर केही दिनका लागि चर्चाको आएको मात्रै बताए । उनले केही दिनका लागि जनतालाई वैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिए पनि अव नटिक्ने बताए ।
उपाध्यक्ष बादलले भने ‘रास्वपा भनेको एउटा अस्थिर राजनीतिक दल हो । यो स्थापित सबै राजनीतिक दलहरूको विरोध गरेर जन्मिएको हो । त्यसकारण उनीहरूको कुनै भविष्य छैन । रास्वपाको न कुनै वैचारिक स्पष्टता छ । न त नीतिगत स्पष्टता छ । यसको केही पनि स्पष्टता छैन । त्यसकारण जित्नका लागि उनीहरूसँग कुनै वैचारिक, राजनीतिक आधार छैन । त्यसकारणले उनीहरूले जित्दैनन् । उनीहरू अहिले केही भ्रम दिन सफल भएका छन् । तर त्यो भ्रम अव धेरै दिन कायम रहँदैन । किनभने भ्रम दिएर नाजीहरू सफल भएका थिए । तर उनीहरू टिकेनन् । रास्वपा सिंहदरबार जलाउनेहरूको एउटा स्टेकहोल्डर हो ।’
उपाध्यक्ष थापाले रास्वपालाई अस्थिर राजनीतिक दलको रूपमा समेत चित्रण गरे ।








