काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताएका छन् ।
आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुगेका शर्माले काँग्रेस एकीकृत रहेको बताए । उनले काँग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे ।
विशेष महाविधशनले गरेको निर्णय अनुरूप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाई छ । उनले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धी कुनैपनि कानुन आकर्षित नहुने उल्लेख गरे ।
विशेष महाधिवेशन प्रतिनिधिहरूले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाई छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए ।
उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरू पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताए । आयोगले निष्पक्ष रूपमा निर्णय गर्ने उनको विश्वास छ । उनले विधानअनुरूप नै महामन्त्रीको हैसियतले आफूहरूको विशेष महाधिवेशन गरेको बताए ।
उनले भने ‘यो अहिले भएको प्रक्रियालाई नै लोकतन्त्र माथिको षड्यन्त्रको संज्ञा दिँदै गरेको देख्दाखेरि दुख व्यक्त गर्न चाहन्छु । किनभने विशेष महाधिवेशन भुईँ तहका सदस्यहरूको, प्रतिनिधिहरूको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो । यसमा अलिकति भ्रम परेको जस्तो लाग्यो । यसलाई स्पष्ट गर्न चाहन्छु । किनभने केही बेर अगाडी पार्टी केन्द्रीय समितिको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दैगर्दापनि निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौँ भन्ने प्रकृतिको अभिव्यक्ति आएको छ । निर्वाचन आयोगले विधिसम्मत ढंगले नै निर्णय गर्दछ । विधिमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले यसप्रति भरोसा गर्नुपर्छ । त्यो भ्रमका साथ आयो कि भन्ने लाग्छ, दल विभाजन भयो । दल विभाजन भइसकेपछि दाबी गर्न जानुपर्छ भन्ने लागेजस्तो लाग्यो । यद्यपि यो विभाजन भएको होइन । पार्टीको विधिसंवत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो । त्यसैले यसमा दल विभाजन सम्बन्धी कुनैपनि दफाहरू आकर्षित हुँदैन । हामीले विधिसंवत प्रक्रियाले विशेष महाधिवेशन गरेका छौँ । विशेष महाधिवेशनले केही नीतिगत निर्णय गरेको छ । नेतृत्व परिवर्तन गरेको छ । त्यसलाई अद्यावधिक गर्नको लागी मात्रै हामी निर्वाचन आयोग आएका हौँ ।’
उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गरे । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उनको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरूले गरेको उनले बताए ।
विधान कार्यान्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उनले बताए ।








