रास्वपा समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक प्रतिनिधित्वको बन्दसूचीबाट जेनजी अभियन्ता तथा हिमाली क्षेत्रकी पर्यावरण तथा संस्कृति अध्येता टासी ल्हाजोमको नाम हटाएको छ । निर्वाचन आयोगले पनि यो परिवर्तन पुष्टि गरेको छ ।
पार्टी स्रोतका अनुसार टासीको नाम सूचीको माथिल्लो क्रममा रहे पनि उनको सहमति बिना नै हटाइएको हो । यसको मुख्य कारण भूराजनीतिक चासो रहेको बताइएको छ । टासी ल्हाजोम जेनजी आन्दोलनपछि रास्वपामा प्रवेश गरेकी थिइन् । उनी हुम्लाको लिमी उपत्यकाकी हुन् र हिमाली पर्यावरण, संस्कृति तथा जलवायु परिवर्तनका विषयमा सक्रिय अभियान्ता हुन् ।
यसअघि २०२५ मा उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने तयारी हुँदा विभिन्न विवाद उठेका थिए । सामाजिक सञ्जालमा उनको पहिचान, भाषा र राष्ट्रियतामाथि प्रश्न उठाइएको थियो भने केहीले उनलाई फ्री तिब्बत अभियानसँग जोडेर चिनियाँ चासो उत्पन्न हुने दाबी गरेका थिए । चिनियाँ पक्षले पनि उनको सम्भावित संलग्नताले दुई देशीय सम्बन्धमा खलल पार्न सक्ने चिन्ता जाहेर गरेको स्रोतहरूले बताएका छन् ।
त्यसबेला तत्कालीन चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्की तथा अन्य मन्त्रीहरूसँग टासीको नामबारे छलफल गरेको उल्लेख छ । सोही विषय फेरि उठेपछि रास्वपाले अन्तिम घडीमा उनको नाम काटेको बुझिएको छ ।








