भृकुटीमण्डपबाट बाहिरिँदै प्रदीप पौडेलले भने- अब सभापतिसँग अन्तिम वार्ता हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक विवाद समाधान र समझदारीका लागि सभापतिसँग ‘अन्तिम वार्ता’ गर्ने बताएका छन् । बुधबार बिहान विशेष महाधिवेशनस्थल भृकुटीमण्डपबाट बाहिरिने क्रममा उनले नीति र नेतृत्व दुवैमा परिवर्तनको आवश्यकता औंल्याउँदै सहमतिको अन्तिम प्रयास जारी रहेको बताएका हुन् ।
विशेष महाधिवेशन पक्षधर समूहबाट संवाद टोलीका सदस्य समेत रहेका पौडेलले अहिलेसम्म ठोस समझदारी नबनेको स्पष्ट पारे । यद्यपि, पार्टीलाई एकताबद्ध बनाउन र विधानको सर्वोच्चता कायम राख्न आफूहरूले निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले भने, ‘हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं । अर्को पक्षबाट थप छलफलमा बस्ने भन्ने कुराको समय निश्चित भइसकेको छैन ।’
पौडेलले वार्ता र संवादको प्रक्रिया चलिरहँदा पनि निर्वाचन प्रक्रिया भने नरोकिने स्पष्ट पारे । नेतृत्व परिवर्तनको एजेन्डामा जोड दिँदै उनले थपे, ‘नीति र नेतृत्व दुवै परिवर्तनको आवश्यकता छ, अहिले त्यो हुनुपर्छ ।’








