गगनमाथि प्रदीप ज्ञवालीको कटाक्ष- गलत साधनबाट सही साध्यमा पुगिँदैन

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेज र नेताहरूका पछिल्ला अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले कांग्रेसको दस्तावेजमा भदौ २४ गतेको विध्वंशकारी घटनाप्रति साधेको मौनता र त्यसलाई राजनीतिक आवरण दिन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

महामन्त्री गगन थापाको नाम नलिई उनलाई नै लक्षित गर्दै ज्ञवालीले लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि भएका प्रहारलाई ‘आन्दोलन’ को नाममा वैधता दिनु खतरनाक हुने चेतावनी दिएका छन् । नेता ज्ञवालीले समाजमा रहेको असन्तुष्टि र युवाहरूको आक्रोशलाई आफूले बुझेको उल्लेख गर्दै भदौ २३ गते भएको प्रदर्शनलाई स्वभाविक मानेका छन् ।

तर, २४ गतेको घटनालाई भने उनले ‘मुलुकको विध्वंस र त्रासदी’ को संज्ञा दिएका छन् । ‘समाजमा असन्तुष्टि थियो, युवाहरूसँग राज्य र संस्थाहरूको दूरी बढेको पनि सत्य हो,’ ज्ञवालीले लेखेका छन्, ‘तर प्रदर्शनभित्र घुसपैठ गरेर रक्तपात गर्ने र युवाहरूलाई मानवढाल बनाउनेहरूलाई पनि ‘जेन्जी आन्दोलनकारी’ ठान्ने हो भने त्यसले अपराधलाई वैधता दिन्छ ।’

अराजकता र आन्दोलन तथा विध्वंस र विद्रोहबीचको सीमारेखा स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । ज्ञवालीले वर्तमान ‘नागरिक सरकार’ प्रति जनतामा तीव्र असन्तुष्टि रहेको दाबी समेत गरेका छन् । ऊर्जा व्यापारमा भएको भनिएको घोटाला, घाइतेहरूको उपचारमा भएको बेवास्ता र मन्त्रीहरूका विवादास्पद निर्णयका कारण नागरिकहरू आक्रोशित बनेको उनको तर्क छ । ‘स्वयम् जेन्जी अभियन्ताहरु नै आज असन्तुष्ट छन्, तर असन्तुष्टिका नाममा फेरि सिंहदरबार जलाउनु उचित ठहरिन्छ ?’ उनले प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको सहयात्री भएको नाताले कांग्रेसभित्रको मतभेद सुझबुझपूर्ण ढङ्गले समाधान हुनुपर्ने कामना गर्दै उनले नेतृत्वको गल्तीको नाममा प्रणालीमै प्रहार गर्न नहुने बताएका छन् । ‘नेतृत्वका गल्ती होलान्, तर त्यस बहानामा संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्‍याउन थालियो भने हामी कहाँ पुगिएला ?’ ज्ञवालीको प्रश्न छ ।

राजनीतिमा साधन र साध्यको सन्तुलन हुनुपर्ने भन्दै उनले गलत बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने स्पष्ट पारेका छन् । उनले कांग्रेसका कार्यकर्ताहरूलाई विध्वंसका ‘नायक’हरूले देखाएको बाटोमा नहिँड्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =