गगनको ‘दास’ टिप्पणीमा शंकरको कडा जवाफ- ‘हामी दास होइनौं, आजका स्पार्टाकस हौं’

काठमाडौं । नेपाली राजनीतिमा दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका प्रभावशाली नेताहरूबीच ‘शब्दयुद्ध’ चर्किएको छ । कांग्रेस महामन्त्री गगन थापाले एमालेको नेतृत्व शैलीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको एमाले महासचिव शंकर पोखरेलले दार्शनिक र राजनीतिक तवरले कडा प्रतिवाद गरेका हुन् ।
आइतबार कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्ने स्वतन्त्रता रहेको दाबी गर्दै एमालेप्रति कटाक्ष गरेका थिए । थापाले भनेका थिए, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो त ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
थापाको उक्त ‘दास’ र ‘लास’ को टिप्पणीप्रति कडा आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । उनले मुलुक संकटमा रहेका बेला उत्सव मनाउने शैलीको विरोध गर्दै आफूहरूलाई ‘दास’ देख्नेहरूमाथि नै प्रश्न उठाएका छन् ।
महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र जनभावनाको मुद्दा उठाउँदा कसैले ‘दास’ देख्छ भने त्यो दृष्टिदोष भएको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् ।’ पोखरेलले अगाडि थपेका छन्, ‘ती स्पार्टाकस -जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’
को हुन् स्पार्टाकस ?
महासचिव पोखरेलले प्रयोग गरेको ‘स्पार्टाकस’ शब्द वामपन्थी राजनीतिमा अत्यन्तै अर्थपूर्ण मानिन्छ । प्राचीन रोमन साम्राज्यका ग्ल्याडिएटर (दास योद्धा) स्पार्टाकसले ईसापूर्व ७३ मा दासत्व विरुद्ध विशाल विद्रोहको नेतृत्व गरेका थिए । कार्ल मार्क्सले उनलाई इतिहासको सबैभन्दा उत्कृष्ट पात्र र सर्वहारा वर्गको वास्तविक प्रतिनिधि मानेका छन् ।
एमाले महासचिवले आफूहरूलाई त्यही विद्रोही पात्रको संज्ञा दिँदै संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य संकटमा परेका बेला मौन बस्नु वा उत्सव मनाउनु कायरता भएको बताएका छन् । पोखरेलले वर्तमान सत्ता गठबन्धन र कांग्रेसको भूमिकाप्रति लक्षित गर्दै भनेका छन्, ‘विध्वंश, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो ।’









