कांग्रेस विशेष महाधिवेशन : बिहान १० बजेदेखि बन्दसत्र, आज पनि प्रतिनिधि दर्ता जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र आज (सोमबार) बिहान १० बजेबाट आरम्भ हुने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार बिहान ८ बजे नै बन्दसत्र सुरु गर्ने योजना रहे पनि व्यवस्थापकीय कारणले समय तालिकामा केही हेरफेर गरिएको हो ।

महाधिवेशन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया अझै बाँकी रहेको र बिहानको खाजा समय समेत व्यवस्थापन गर्नुपर्ने भएकाले बन्दसत्र दुई घण्टा पछि सारिएको हो । प्रचार प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए अनुसार, बिहान ८ बजेबाट प्रतिनिधि दर्ता तथा खाजाको कार्यक्रम सुचारु हुनेछ भने त्यसपछिको समय अर्थात् १० बजेबाट मात्रै बन्दसत्रको औपचारिक सुरुवात हुनेछ ।

महाधिवेशनमा सहभागी हुन देशैभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको छ । आइतबार बिहान सवा ८ बजेबाट सुरु भएको दर्ता प्रक्रिया अन्तर्गत हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

आयोजकले सहजताका लागि सातवटै प्रदेशका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै डेस्क खडा गरेर दर्ता प्रक्रिया अघि बढाएको छ । आइतबार उद्घाटन सत्र सकिएपछि रात्रिकालीन खानाका लागि दर्ता प्रक्रिया स्थगन गरिएको थियो । आज बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =