रास्वपाको सांसद बन्न रिमा विश्वकर्माले छाडिन् कुलमानको साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) बीचको एकता सम्झौता मात्र १२ दिनमा भंग भएपछि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा अन्योल उत्पन्न भएको छ ।

पुस १४ गते एकता घोषणा गर्दै उज्यालो नेपालका उम्मेदवारहरू समेटेर रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूची अब अद्यावधिक गर्नुपर्ने अवस्था आएको छ ।

एकता भंग भएपछि उज्यालो नेपालले छुट्टै बन्द सूची बुझाउने समयसीमा घर्किसकेको छ । रास्वपाले यसअघि बुझाएको सूचीबाट केही नेताहरूले नाम फिर्ता लिएका छन् भने केहीले फिर्ता नलिने निर्णय गरेका छन् ।

आइतबार रास्वपाले समानुपातिक सूची अद्यावधिक गरी आयोगमा बुझाएको छ । अद्यावधिक सूचीमा उज्यालो नेपालबाट समेटिएकी अभिनेत्री रिमा विश्वकर्माको नाम यथावत् राखिएको छ ।

रिमा पार्टी स्थापनादेखि नै उज्यालो नेपालको अभियानमा सक्रिय थिइन् । एकता भंगपछि उज्यालो नेपालको पत्रकार सम्मेलनमा भने उनी देखिएनन् ।

उज्यालो नेपालका एक केन्द्रीय सदस्यका अनुसार, रिमा केन्द्रीय समिति बैठकमा छोटो समय बसेर आँसु भरिएर हिँडेकी थिइन् । उनी अब उज्यालो नेपालमा नफर्कने जस्तो देखिएको छ ।

स्रोतका अनुसार रिमा रास्वपाको सूचीबाट नाम फिर्ता नलिने पक्षमा छिन् । कानुनतः नाम फिर्ता नलिएसम्म उनी रास्वपाकै उम्मेदवार रहन सक्छिन्, यद्यपि राजनीतिक तथा नैतिक जटिलता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =